ईश्वरले बोल्न खोजेपछि एमाले बैठकमा होहल्ला


काठमाडौं, २९ असोज । नेकपा (एमाले) को केन्द्रीय समिति बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बोल्नका लागि समय माग गरेपछि केहीबेर होहल्ला भएको छ । ललितपुरमा जारी एमालेको केन्द्रीय समिति बैठकका वरिष्ठ उपाध्यक्ष पोखरेलले बाल्न समय दिनुपर्ने बताएका थिए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलको मागभन्दा विपरीत महासचिव शंकर पोखरेलले बैठकमा केन्द्रीय सदस्यले मात्रै बोल्न पाउने र पदाधिकारीले बोल्न नपाउने बताएपछि चर्काचर्की भएको थियो । बैठकमा सहभागी केही केन्द्रीय सदस्यहरुले पदाधिकारीले पनि बोल्न पाउनुपर्ने धारणा राखेका छन् ।

एमालेमा वरिष्ठ उपाध्यक्ष पोखरेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर मानिन्छन् । वरिष्ठ उपाध्यक्ष पोखरेले भण्डारी सक्रिय राजनीतिमा आउन पाउनुपर्ने पक्षमा वकालत गर्दै आइरहेका छन् भने ओली पक्षधर नेताहरु भण्डारी सक्रिय राजनीतिमा आउन नहुने पक्षमा छन् ।

आजको केन्द्रीय समिति बैठकमा पनि वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्व राष्ट्रपति भण्डारीकै कुरा निकाल्ने भएपछि उनलाई रोकिएको भन्दै केही केन्द्रीय सदस्यहरु आक्रोशित बनेका हुन् ।