काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उनले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताएका हुन् ।
संयोजक प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादीले दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको प्रष्ट पारे । ‘हाम्रो पार्टी नै जेन–जी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो,’ प्रचण्डले भने, ‘जेन–जी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ ।’
सरकारमा बस्दा जेन–जीहरूलाई दमन गर्ने र जेन–जीका माग र ऐण्डालाई समर्थन गर्दै आइरहेको पार्टी एउटै नभएको बताउँदै उनले थपे, ‘सरकारमा बसेर जेन–जीहरुलाई दमन गर्ने र सडकमा जेन्जीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन भनेर एकथरि मानिसहरुले प्रचार गर्ने गरेका छन् । हामी उनीहरु जस्तै होइनौं । माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेन–जीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो ।’
निर्वाचन नहुने हो कि नहुने भन्ने आशंका होइन निवार्चन गराउने गरी भुमिका खेल्न उनले आग्रह गरे । ‘निर्वाचन हुँदैन कि भनेर द्धुविधामा बस्नु हुँदैन। निर्वाचन घोषणा गरिसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ,’– उनले भने ।
पाँच वटा पार्टीसँग चाँडै एकता प्रक्रिया अघि बढ्ने संकेत गर्दै प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकबाट जेन–जीका मागअनुसार नै नेतृत्व तहमा युवाहरूलाई ल्याउने नीतिगत निर्णय भइसकेको बताए । पार्टीलाई समयअनुसार पुनर्संरचना गर्दै लैजाने प्रतिबद्धतासमेत जनाए ।




प्रतिक्रिया