एकीकृत समाजवादीका नेता-कार्यकर्तालाई ओलीले एमालेमै बोलाए, के गर्लान् माधव नेपाल ?


काठमाडौं, २९ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्तालाई लक्षित गर्दै पुरानै पार्टीमा फर्किन आग्रह गरेका छन् । आज (बुधबार) पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुलाई मूल घरमै फर्किन आग्रह गरेका हुन् ।

एमाले निर्माणमा एकीकृत समाजवादीमा रहेका नेता तथा कार्यकर्ताहरुको पनि उत्तिकै भूमिका रहेको भन्दै ओलीले आश्रय खोज्दै अन्यत्र नभौतारिन भने । ‘समाजवादी पार्टीका नेताहरू छहारी खोज्दै कसका पिँढीमा बास बसुँ भनेर भनेर झोलीतुम्बा बोकेर कुद्दै छन् । म कार्यकर्ता साथीहरुलाई भन्न चाहन्छु–तपाईं आफैंले बनाएको पार्टी यहाँ छ, आश्रय खोज्न नजानुस् कुनै चौपारी खोज्न नजानुस्,’– ओलीले भने ।

ओलीले पार्टी एकताको लागि खुलेर आह्वान गरिरहँदा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भने माओवादीसँग एकता गरेर अगाडि बढ्ने पक्षमा छन् । लामो समयदेखि माओवादीसहितको समाजावादी मोर्चामा रहेको एकीकृत समाजवादी माओवादीसहितको दलसँग एकता गर्ने पक्षमा छ । एकताको लागि एकीकृत समाजवादीले समिति नै बनाएर प्रक्रिया अगाडि बढाइरहेको छ । माओवादीसँग एकता हुँदैगर्दा एकीकृत समाजवादीको बहुसंख्यक नेता तथा कार्यकर्ताहरु पुरानै घर फर्किने निश्चित छ ।