संसद् पुनःस्थापनाको एजेन्डा गौण बनिसक्यो, एमालेबाहेकका सबै दलहरू निर्वाचनमा जान सहमत भइसकेः प्रचण्ड


काठमाडौं, ३० असोज । नेकपा (माओवादी केन्द्र) का महाधिवेसन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी युवाहरुको आन्दोलन विशुद्ध शान्तिपूर्ण रहे पनि तत्कालीन सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलता नअपनाउको कारण आन्दोलन हिंसात्मक बनेको बताएका छन् । आज चितवनमा नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा उनले भने, ‘युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर, सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो । गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो ।’

प्रचण्डले घटनापछि २३ गते राति नै काठमाडौं फर्केर पार्टीको आकस्मिक बैठक बसेको र सबैभन्दा पहिले माओवादी केन्द्रले आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, उच्चस्तरीय छानबिन गठन गर्ने र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आधिकारिक निर्णय सार्वजनिक गरेको बताए । ‘हामीले आन्दोलनलाई वैधानिकता दियौं । प्रतिपक्षी दलहरूलाई एउटै धारणा बनाउन आग्रह गरियो र प्रत्यक्ष समन्वय गरेर देशलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउन पहल गरियो,’ उनले भने ।

२४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सकेर बाहिरिने क्रममा सुरक्षाको जोखिम बढेपछि आफू स्वयंको पहलमा सुरक्षा खोज्दै सेनाको समन्वयमा सिंहदरबारभित्र सुरक्षित रहनुपरेको प्रसंग पनि उनले स्पष्ट गरे उनले भने, ‘हामीलाई कसैले लिएको होइन, हामीले परिस्थिति मूल्याङ्कन गरेर सुरक्षा संयन्त्रको सहायतामा सुरक्षित स्थानमा गयौं ।’

प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प नदिएको स्पष्ट पार्दै सबै दलहरू निर्वाचनतर्फ उन्मुख हुनुपर्ने बताए । ‘राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू, अन्तर्राष्ट्रिय समुदाय सबैले निर्वाचन नै अबको प्राथमिकता हो भन्ने निष्कर्षमा पुगेका छन् । जनताले पनि परिवर्तनको मार्ग निर्वाचनमार्फत रोज्ने छन्,’– उनले भने ।

संसद पुनःस्थापना हुनसक्ने भएपनि उक्त एजेन्डा अब गौण बनिसकेको र एमाले बाहेकका सबै दलहरू निर्वाचनमा जान सहमत भइसकेको उनले बताए । एमालेभित्र पनि बहुमत चुनावका पक्षमा रहेको उल्लेख गर्दै उनले भने, ‘ढिलोछिटो सबै दल चुनावमा जान्छन् ।’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई लक्षित गर्दै संयोजक प्रचण्डले विगतका गल्तीहरूबाट कुनै आत्मसमिक्षा नभएको उल्लेख गर्दै उनले भने, ‘उनको कारण यति धेरै जनधनको अत्यधिक क्षति भयो । तर, आज पनि कुनै पश्चाताप छैन ।’

पार्टी एकताको सन्दर्भमा प्रचण्डले लामो समयदेखि छलफलमा रहेको वाम एकता अब निष्कर्षमा पुग्न लागेको जानकारी र्दि । उनले भने, ‘समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा हुन्छ, त्यो घोषणा केही दिनभित्र हुनेछ । हाम्रो एकताको दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउने हो ।’

पार्टीको भविष्यप्रति विश्वस्त देखिएका प्रचण्डले हालै देशभित्र र बाहिरका विश्लेषकहरूले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा अग्रस्थानमा आउने सम्भावना रहेको बताएको उल्लेख गरे । ‘तीन प्रमुख पार्टीमध्ये माओवादी नम्बर एकमा आउन सक्छ भन्ने आँकलन व्यापक रूपमा भइरहेका छन्,’ उनले भने ।