काठमाडौं, ३० असोज । नकेपा (एमाले) का केन्द्रीय सदस्य रामेश्वर फुँयालले पार्टीको ११ औं महाधिवेशनपछि पनि केपी शर्मा ओली नै अध्यक्ष बन्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले देशको माग पनि नेतृत्वमा ओली नै रहेको बताए । ‘पार्टीको ११औं महाधिवेशन पछाडि नेकपा (एमाले) का अध्यक्ष निर्वाचनद्वारा केपी शर्मा ओली हुनुहुनेछ । देशले त्यही मागिरहेको छ,’– उनले भने ।
अहिले राज्यविहीनताको अवस्था सिर्जना भएको अवस्थामा ओलीले त्यतिकै छाडेर हिँड्न नमिल्ने उनले बताए । एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव पार्टी अध्यक्ष ओलीले केन्द्रीय समितिमा पेश गरेका छन् ।
नेता फुँयालले सिंहदरबार र सर्वोच्च अदालत कब्जा गर्नका लागि जेन–जी आन्दोलनलाई मानव ढाल बनाइएको बताए । पारदर्शिता, सुशासन र रोजगारी जेन–जीहरुको मागको पक्षमा आफू पनि रहेको उनले बताए । जेन–जीलाई मानव ढाल बनाउनेहरुलाई राज्यले चिनेर कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । उनले भने, ‘सिंहदरबार कब्जा गर्न जेन–जी आएको थिएन । सर्वोच्च अदालत कब्जा गर्न जेन–जी आएका थिएनन् । म जेन–जी आन्दोलनको पारदर्शिताको माग, सुशासनको माग, रोजगारीको मागको पक्षमा छु । तर, जेन–जीलाई मानव ढाल बनाएर जुन खालको षड्यन्त्र गरियो, त्यो षड्यन्त्रकारीहरुलाई नङ्ग्याउन जरुरी छ ।’




प्रतिक्रिया