काठमाडौं, ३१ असोज । नेकपा (एमाले) का नेता एवं पूर्व सांसद अच्युत प्रसाद मैनालीले ९९ प्रतिशत केन्द्रीय सदस्यहरु केपी शर्मा ओलीले नेतृत्व छाड्न हुँदैन भन्ने पक्षमा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ९९ प्रतिशत केन्द्रीय सदस्यहरु अहिले ओलीले नेतृत्व छाड्न हुँदैन भन्ने पक्षमा रहेको बताएका हुन् । उनले नेतृत्व हस्तान्तरण र अनुमोदन प्रक्रिया महाधिवेशनबाट नै हुनुपर्छ भनेर महाधिवेशन आयोजना गरिएको बताए ।
‘वर्तमान अवस्थाका केपी ओलीले नेतृत्व छोड्नुपर्छ भन्ने धारणा एमालेको रहेन । किनभने झण्डै २ सयभन्दा बढी केन्द्रीय सदस्यहरुले बोल्ने क्रममा अत्यन्त न्यून रुपमा केही साथीहरुले अहिलेको परिस्थितिमा पुनर्गठन पनि विकल्प हो भन्ने राख्नु भएको हो । तर, ९९ प्रतिशतले चाहिँ अहिलेको यो कठिन परिस्थितिमा अनुभवी र जिम्मेवार नेताले बीचमा छोड्न हुँदैन । नेतृत्व हस्तान्तरणका प्रक्रियाहरु हुन्छ, त्यो प्रक्रियाबाट जान सकिन्छ । नेतृत्वलाई अनुमोदन गर्नुपर्ने, पुनर्गठन गर्नुपर्ने हो भने त्यो महाधिवेशनबाट गर्नुपर्छ र महाधिवेशन अविलम्ब आयोजना गर्नुपर्छ भनेर प्रस्ताव गरिएको अवस्था हो,’– उनले भने ।
नेता मैनालीले पार्टी अध्यक्ष ओलको नाममा केही पनि सम्पत्ति नरहेको बताए । ओलीले आफ्नो पैतृक सम्पत्तिसमेत प्रतिष्ठानको नाममार्फत राष्ट्रलाई दिइसकेको उनले स्मरण गराए । ओलीको राष्ट्रप्रतिको चट्टानी अडान मन नपराउने आन्तरिक र बाह्य शक्तिहरुले जेन–जी आन्दोलनमा घुसपैठ गरेर आतङ्क मच्चाएको नेता मैनालीको आरोप छ ।
‘उहाँ देश र जनताप्रति समर्पित भएर, संविधान जारी गर्ने सवालमा होस्, नाकावन्दीको सामना गर्ने सवालमा होस्, चुच्चे नक्सा जारी गर्ने सवालमा होस् । देशलाई समृद्धिमा लाने विषयमा होस् । उहाँको राष्ट्रप्रतिको चट्टानी अडान थियो । त्यो अडानलाई आज धेरै आन्तरिक र बाह्य शक्तिहरुले मन नपराएर, यो जेन–जीको नामा घुसपैठ गरेर वितण्डा मच्चाइयो,’– नेता मैनालीले भने ।
उनले अहिले संविधानले नचिनेको र जनताबाट अनुमोदन नभएको गैरजिम्मेवार सरकार बनेको टिप्पणी गरे । यो सरकारले देशमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसक्ने, सबै उद्यमी व्यवसायीहरु हतोत्साही भएको र विदेश पलायन हुने अवस्था सिर्जना भएको उनले बताए ।




प्रतिक्रिया