गृहमन्त्री अर्यालले जेन-जी आन्दोलन हिंसात्मक बन्नुको कारण खोले


काठमाडौं, ३१ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले आपराधिक मानसिकता भएका व्यक्तिका कारण नजी आन्दोलन हिंसात्मक बनेको बताएका छन् । आज (शुक्रबार) ७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘आपराधिक मानसिकताका व्यक्तिहरूले आन्दोलनको आडमा नेपाल सरकारका महत्त्वपूर्ण प्रतिष्ठान, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सेवा प्रदायक कार्यालयहरू तथा व्यक्तिका निजी सम्पत्ति समेतमा तोडफोड, आगजनी र लुटपाट गरी आन्दोलनलाई हिंसात्मक बनाए ।’

उनले सयौं प्रहरी कार्यालयमा आगजनी भएको बताए । ‘सवारी साधनहरु तोडफोड भए । हातहतियार तथा सुरक्षा उपकरणहरुको लुटपाट भयो । प्रहरीमाथि भौतिक आक्रमण पनि भयो तर नेपाल प्रहरी नागरिक स्पंदनमा बसेको संगठन हो भन्ने सत्य पनि हाल नागरिक सहभागितामा भएको मर्मत र पुनर्स्थापनाले पुष्टि गरेको छ ।’

समारोहलाई सम्बोधनको क्रममा गृहमन्त्री अर्यालले अभाव, प्रभाव र दबाबको बाबजुद हरेक विषम परिस्थितिलाई प्रहरी संगठनले दृढतापूर्वक सामना गर्दै राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक वहन गर्दै आएको चर्चा गर्दै आमनागरिक र राज्यले सामना गरेका हरेक विषम परिस्थितिमा निस्वार्थ सेवाभावका साथ प्रभावकारी कार्यसम्पादन गरेको बताए ।

निष्पक्ष अनुसन्धान र प्रचलित कानुनको कार्यान्वयन कानुनी राज्यका आधार भएको र निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनको साथै राज्यमा दण्डहीनताको अन्त्य समेत गर्ने उल्लेख गर्दै नेपाल प्रहरीले कुनै स्वार्थ तथा शक्तिको प्रभाव र दबाबमा नपरी आचरण, व्यवहार र सेवा प्रवाहका विविध पक्षमा सुधार गर्दै निष्पक्ष अनुसन्धानमा केन्द्रीत हुने विश्वास उनले व्यक्त गरे।

गृहमन्त्री अर्यालले वर्तमान विश्वमा भएका नवीनतम आविष्कारहरू, प्रविधिमा देखिएको द्रुत विकास र यसको बढ्दो प्रयोगले नयाँ प्रकृतिका अपराधहरू बढ्दै गएको र अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको उल्लेख गर्दै त्यस्ता अपराधहरूको नियन्त्रण, रोकथाम तथा सफल अनुसन्धान गर्न नेपाल प्रहरी हरदम तयार हुनुपर्ने बताए ।

साथै बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै नागरिकको चाहना अनुरूप उच्च मनोबलका साथ प्रभावकारी कार्यसम्पादन गर्न उनले प्रहरी कर्मचारीलाई निर्देशन समेत दिए । नेपाल प्रहरीलाई साधन स्रोतले सुसज्जित बनाई सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह मन्त्रालय सदैव कटिवद्ध रहेको उनले बताए।

सो क्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुँवेर खापुङले गत भदौ २३ र २४ गतेको जेन(जी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताएका छन्।

उनले राज्यको सबभन्दा अग्र पंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रूपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह, आक्रोश समानन्तर रूपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रूपमा स्थापित हुन सफल भएको बताए।