काठमाडौं, ३१ असोज । राजसंस्था पक्षधरहरुले भोलि (शनिबार) बृहत मोटरसाइकल र्यालीको आयोजना गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राजसंस्थाको पक्षमा र वर्तमान सरकारलाई दवाब दिनका लागि मोटरसाइकल र्यालीको आयोजना गरिएको बताएका हुन् । उनीहरुले अगामी छठपछि भने निर्णायक आन्दोलन गर्ने चेतावनी दिए ।
वक्ता सन्तोष राजावादीले भने, ‘अहिलेको सरकारलाई दवाब दिन पनि भोलि ठीक १२ बजे सामाखुसी चोकबाट नारायणहिटी, एकान्तकुनाबाट नारायणहिटीसम्म बाइक र्याली कार्यक्रम राखेका छौं । छठपछि हामीले निर्णयक आन्दोलनको तयारी गरिहेका छौं ।’
सन्तोष राजावादीले यतिबेला आम जनताले राजा चाहियो भनिराखेको पनि बताए । यो कुरा अहिलेको अन्तरिम सरकार, दलहरु र जेन–जी पुस्ताहरुले बेलैमा बुझ्न आवश्यक रहेको बताए । आगामी छठपछि सडकमा गएर राजसंस्था पुनर्स्थापना गर्ने पनि उनले बताए ।
उनले असली जेन–जीहरु पीडामा रहेको, अन्यायमा परेको, उनीहरुलाई न्याय दिने पक्षमा अहिलेको सरकार नरहेको र उनीहरु आफ्ना मान्छे र विदेशी एजेण्टहरुलाई कसरी मन्त्री बनाउने भनेर चलखेलमा नै लागिरहेको बताए । आफूहरुले आन्दोलनको सन्दर्भमा दुर्गा प्रसाईँ, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेता धवल शमशेर, राष्ट्रिय शक्तिका अध्यक्ष केशरबहादुर विष्टलगायतका नेताहरुलाई भेटेको पनि उनले बताए ।
कार्यक्रममा राजावादीहरु अर्जुन राणा, सरीता केसी, गणेश भट्टराई, दशरथ भण्डारीलगायतको उपसस्थिति रहेको थियो ।




प्रतिक्रिया