तिहारलक्षित सुरक्षा योजनाः काठमाडौंमा बेलुका ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने


काठमाडौं, ३१ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिपावलीको अवसरमा मैनवत्ती तथा विजुलीको प्रयोग गर्दा सावधानी अपनाउनु हुन, आतिसवाजी, पटाका, भुइचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद–बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न/नगराउन आग्रह गरेको छ । आज (शुक्रबार) सूचना जारी गर्दै प्रशासनले देउसी–भैलो लगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले खेल्नसमेत भनेको छ । त्यस्तै देउसी–भैलो खेल्ने समय बेलुकी ९ बजेसम्मको लागि मात्रै तोकिएको छ ।

देउसी–भैलो खेल्दा कोही–कसैको गुनासो नआउने गरी खेल्ने व्यवस्था मिलाउन, सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध नहुने गरी देउसी–भैलो खेल्न, सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई वाधा पर्ने गरी कुनैपनि प्रकारको पुजा मण्डप वा दीपावली उत्सवस्थल नबनाउन प्रशासनले आग्रह गरेको छ ।

चाडपर्वको समयमा आ–आफ्नो घर/निवासको सम्पत्ति चोरीको सम्भावना अधिक हुने गरेको विगतको घटनाबाट समेत पुष्टि भएको भन्दै प्रशासनले घर खाली नहुने गरी चनाखो र सतर्क भै आ–आफ्नो घर रेखदेख गर्न, घर छोड्नुपरेको खण्डमा छिमेकीलाई जानकारी गराउन र शंकाष्पद व्यक्ति आएको खण्डमा नजिकको प्रहरी एवम् सुरक्षा इकाईमा खबर गर्न भनेको छ ।

चाडपर्वको वहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल् पुग्ने कुनै पनि गतिविधि नगर्न/नगराउन र अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मुल्यवृद्धि, म्याद नाघेका वस्तु विक्री वितरण गर्ने लगायतका उपभोक्ता हित विपरीतका कार्यहरु नगर्न नगराउन पनि भनिएको छ ।

त्यस्तै, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, ट्राफिक नियम पालना गर्न र गराउन गैरकानूनी रुपमा चिठ्ठा, जुवातास र अनलाइन सपिङका नाममा हुने अवैध कारोवार तथा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्न आग्रह गरिएको छ ।