विद्या भण्डारी राजनीतिमा फर्किनु एमालेका लागि उत्पादक हुँदैनः उषाकिरण तिम्सेना (भिडिओसहित)


काठमाडौं, १ कात्तिक । नेकपा (एमाले) कि केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलको राजनीतिमा फर्किन नहुने बताएकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आजको बिग्रेको राजनीतिमा पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन एमालेका लागि उत्पादक हुन्छ भन्ने आफूलाई विश्वास नरहेको बताएकी हुन् । उनले भनिन्, ‘उहाँ दुईचोटी राष्ट्रपति हुनुभएको छ । उहाँले अब राजनीतिक प्रतिवद्धता लागू गर्नुपर्ने, अभ्यास गर्नुपर्ने ठाउँ चाहिँ अब पार्टीहरु होइन । आजको बिग्रेको राजनीतिमा उहाँको पुनरागमन एमालेका लागि त्यति उत्पादक हुन्छ भन्ने मलाई लाग्दैन । पूर्व राष्ट्रपतिजस्तो गरिमामय पदको गरिमा कायम राख्न पनि उहाँ राजनीतिमा फर्किन हुँदैन भन्ने मेरो मत छ ।’

साथै, उनले पार्टीको ११औं महाधिवेशनको मिति तय भइसकेको स्मरण गराउँदै अबको महाधिवेशनका धेरै नेताहरु भीम रावल बन्न तयार हुनुपर्ने बताईन् । उनले रावलको सदस्यता खोसिनुलाई डेमोक्रेटिक अभ्यास भन्न नसकिने बताईन् । उनले दलले बोकेको सिद्धान्त पार्टी जीवनमा र आफ्नो जीवनमा पनि एप्लाइ गर्नुपर्ने बताईन् । उनले भनिन्, ‘आजको एमालेको नेतृत्व गरिरहनुभएका सबै कमरेडहरुको बराबर त उहाँ (भीम रावल) को यो आन्दोलनमा योगदान छ । उहाँको सदस्यता खोसिँदाखेरी केही कमरेडहरुले त खोसेकै ठीक छ भन्नुभयो । केही कमरेडहरुले नखोस्नुपर्थ्यो भन्नुभयो । त्यो हामीले कस्तो अभ्यास गरेको हो भन्दा त्यो कुनै डेमोक्रेटिक अभ्यास चाहिँ थिएन । अनि सबैले भीम रावल बन्न तयार पनि हुनुपर्छ । किनभने यो त प्रत्यक्ष हामीले बोकेर हिँडेको आईडीओजोलीको विषय नै हो रहेछ नि । हामीले जे सिद्धान्त बोकेर हिँडेका छौं, हामीले त्यही सिद्धान्त हाम्रो जीवनमा, पार्टीको जीवनमा त एप्लाई गर्नुपर्छ नि ।’

साथै, पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा पार्टी निर्णयविरुद्ध केही पनि नबोल्नु भनेर दिएको निर्देशनको सन्दर्भमा फरक मत राखिन् । उनले नेतृत्वले सबैखाले विचारलाई संश्लेषण गरेर अगाडि बढ्नुपर्ने बताईन् । ं‘केपी शर्मा ओलीले जे मन पराउनुहुन्छ, त्यो मात्रै बोल्न त बोल्छन्, बोल्दैनन् कमरेडहरुले त्यो मलाई थाहा छैन । आजको नेतृत्व गर्छु भन्ने गणतन्त्रका नेताहरुले चाहिँ सबै खाले विचारहरुलाई समेटेर, सबैखाले विचारहरुको संश्लेषण गरेर अगाडि बढ्नुपर्छ,’– उनले भनिन् ।