ओलीलक्षित प्रचण्डको टिप्पणीः पटक-पटक संसद् विघटन गर्नेले अहिले पुनर्स्थापनाको कुरा गर्नु हाँस्यास्पद


काठमाडौं, १ कात्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचनबाहेक अर्को विकल्प नरहेको बताएका छन् । आजको आवश्यकतालाई बुझेर घोषित मितिमा निर्वाचन सफल पार्न लाग्नुपर्ने प्रचण्डले बताए । परिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिजो पटक–पटक संसद् विघटन गर्नेहरु (केपी ओली) आज पुनर्स्थापनाको पक्षमा उभिनु हाँस्यास्पद रहेको बताए । निर्वाचन भाँड्ने कुचेष्ठा नगर्न उनले चेतावनी दिए ।

‘हिजो पटक–पटक संसद् विघटन गर्नेहरुले अहिले संसद् पुनर्स्थापनाको कुरा गर्नुजस्तो हाँस्यास्पद कुरा अरु केही हुन सक्दैन । म ती साथीहरुलाई त्यस्तो बितण्डातिर नलाग्न र आजको आवश्यकतालाई बुझेर निर्वाचन सफल पार्नतिर लाग्न आग्रह गर्न चाहन्छु । यो नै देशको, संविधानको र लोकतन्त्रको रक्षाका लागि सबैभन्दा उत्तम विकल्प हो । यसलाई भाँड्ने कुचेष्ठा कसैले नगरौं,’– उनले भने ।

सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारको सिफारिस तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेको प्रचण्डले दोहार्याए । ओलीले राष्ट्रपतिलाई पठाएको चिठी आफूले हेरिसकेको पनि प्रचण्डले बताए । निर्वाचन घोषणा भएको आजको यथार्थतालाई विर्सिएर संसद् पुनर्स्थापनाको नारा उठाउनतिर लागियो भने देशमा अर्को अराजकता र दुर्घटना निम्तिने खतरा रहेको पनि प्रचण्डले बताए ।

‘यो सरकार पहिलाका प्रधानमन्त्री केपी ओली काम चलाउ प्रधानमन्त्री भएको बेलामा केपी ओलीकै सिफारिसमा भएको हो । हामीले उहाँले राष्ट्रपतिलाई पठाएको चिठी हेरेका छौं । अन्तरिम सरकार गठनको लागि सिफारिस गर्ने व्यक्तिले अहिले अन्य अन्यथा बोलेर । आजको यथार्थ के पनि हो भने अन्तरिम सरकार मात्रै होइन, यो अन्तरिम सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन हो । यो आजको नेपाली समाजको यथार्थ हो । यसलाई टेक्न छोडेर अर्को कुनै नारा उठाउन थालियो भने त्यो फेरि देशमा अर्को अराजकता र दुर्घटना निम्त्याउने बाहेक केही हुन सक्दैन । कुनै बितण्डातिर नजाऔं,’– उनले भने ।

सिंगो राष्ट्र एक भएर घोषित निर्वाचन सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि उनले. अपिल गरे । निर्वाचनबाट आउने संसद्बाट संविधान संशोधनको प्रक्रियामा जान र जेन–जी युवाहरु र माओवादीले हिजोदेखि भन्दै आएको कुरा पूरा गर्नका लागि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

वर्तमान सरकार निर्वाचन गराउनका लागि गम्भीर रहेको कुरामा आफूलाई विश्वास रहेको पनि प्रचण्डले बताए । नेपालका अन्तर्राष्ट्रिय मित्रहरुले पनि नेपालमा निर्वाचन सफल पार्न सहयोग गर्ने मनस्थितिमा देखिएको पनि प्रचण्डले बताए । नेपालीहरुको अगाडि रहेको विकल्प निर्वाचन सबैभन्दा राम्रो र सहज विकल्प रहेको उनले बताए । उनले कांग्रेस, एमाले र सबै नागरिक समाजका अगुवाहरुलाई एक भएर राष्ट्रय सहमतिको आधारमा निर्वाचन सफल पार्न आग्रह गरे ।