च्यासलबाट ओलीको बोली : यो सरकार म्यादी सरकार हो, यो रहन्छ भन्ने भ्रम नराखौं


काठमाडौं, १ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई म्यादी सरकारको संज्ञा दिएका छन् । उनले सुशीला कार्की नेतृत्वको सरकारको कुनै जग नभएको भन्द्यै हल्लाउँदा हल्लिने भनेका छन् । जेनजी आन्दोलनपछि पहिलोपटक पार्टी कार्यालय पुगेका ओलीले आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले सुशीला नेतृत्वको वर्तमान सरकारलाई अब धेरै नहरने भनेका छन् ।

उनले भने,‘यो एउटा भुल्को हो । यो सरकार भनेको म्याद नतोकिएको म्यादी सरकार हो । यो सरकार रहन्छ भन्ने भ्रम रहन्छ भने त्यो छाडिदिए हुन्छ, जग नभएको यसो हल्लाउँदा हल्लिने सरकार हो । कति जग भएकालाई त बलजफ्ती फ्याँकियो भने यो जगै नभएको । हल्लिँदा पुक्लुक्क हुन्छ । अनि यो सरकारका यत्रा धाकधम्की ?’

उनले वर्तमान सरकारको जन्म नै आगजानी र लुटपाटबाट भएको आरोप लगाए । अहिलेको सरकारले देशलाई हिंसा र अराजकतामा धकेलको पनि गम्भीर आरोप लगाए । उनले वर्तमान सरकार वैधानिक नभएको दाबी गरे । एमालेलाई संसद् पूनःस्थापनाको पक्षमा उभ्याएका ओलीले त्यसले मात्रै निकास निकाल्ने दाबी गरे । उनले भने,‘प्रतिनिधिसभा पूनःस्थापनाले मात्रै देशलाई संवैधानिक बाटोमा फर्काउँछ ।’ तस्विर : केपी ओलीको सचिवालय/फेशबुक