प्रचण्डको खुलासाः समाजवादी मोर्चामा आवद्ध दलहरु एकता घोषणाको तयारीमा


काठमाडौं, १ कात्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चामा आवद्ध दलहरु एकता घोषणाको तयारीमा रहेको बताएका छन् । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चामात्रै नभएर आफूहरु बृहत वाम एकताको पक्षमा रहेको बताएका हुन् । ‘हामी समाजवादी मोर्चामा आवद्धहरु छिटै एकता घोषणाको तयारीमा छौं । त्यतिले मात्रै पुग्दैन, सबै वामपन्थी शक्तिहरु,’– प्रचण्डले भने ।

लोकतन्त्रवादी, देशभक्त, राष्ट्रलाई माया गर्ने सबैसँग पनि एउटा बृहत्तर मोर्चाको निम्ति पनि प्रचण्डले अपिल गरेका छन् । निकै ठूलो संघर्ष र बलिदानबाट आजको अवस्थासम्म आइपुगेको उल्लेख गर्दै प्रचण्डले कोही पनि निराश हुनुपर्ने अवस्था नरहेको बताए । जेन–जी युवाहरुले २३ गतेको आन्दोलनमार्फत राजनीतिमा आफ्नो उपस्थिति दर्ज गरिसकेको पनि उनले बताए । उनले जेन–जीलाई क्रान्तिकारीको उत्तराधिकारीको संज्ञा दिए । आफूहरुलाई प्रतिक्रियावादीहरुले विगतमा आतङ्ककारी भनेको स्मरण गर्दै प्रचण्डले अहिले तिनै प्रतिक्रियावादीहरुले जेन–जीलाई पनि आतङ्ककारी भनिरहेको बताए ।

‘मैले भने– ती हाम्रो उत्तराधिकारी हुन्, क्रान्तिकारीको उत्तराधिकारी हुन् । अरुले धेरै लोलोपोतो नगरे हुन्छ । हामी हिजोका क्रान्तिकारी हौं । प्रतिकृयावादीद्वारा आतङ्ककारी भनिएका हामी, तपाईँ जेन–जी युवाहरु आजका क्रान्तिकारी । अहिले पनि प्रतिकृयावादीहरुले तपाईँहरुलाई आतङ्कारीकै दर्जामा राख्न चाहेका छन् । आउनुस् सबै क्रान्तिकारी एक भएर यो देशलाई अझ समुन्नत बनाउन सहयोग गरौं । संगै बसेर छलफल गरौं । यो देशलाई निकास दिने उपायबारे छलफल गरौं,’– उनले भने ।