काठमाडौं, कार्तिक २ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारमा बत्तीको अभाव नहुने बताएका छन् । तिहारको लागि लोडअनुसारको आपूर्ति धेरै बढिरहेकोले आम उपभोक्ताहरुलाई सुरक्षित रहेर ढुक्कसँग चाहेजति विद्युत उपभोग गर्न उनले आग्रह गरे ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले अहिले नेपालमा मागभन्दा विद्युत उत्पादन बढिरहेकोले एक हजार मेगावाट निर्यात भइरहेको जानकारी दिए ।
उनले भने,’उज्यालोको पर्व तिहार सुरु भएसँगै देशभर विद्युतको माग बढ्दै गएको छ । अहिले देशमा मागभन्दा उत्पादन बढी रहेकाले नेपालबाट एक हजार मेगावाट विद्युत भारतमा निर्यात गरिरहेका छौ । लक्ष्मी पुजाका दिनमा पिक डिमान्ड हुनेभन्दा बढी विजुली उपलब्ध छ । कुनै समस्या हुँदैन । सुरक्षित रहेर विद्युत उपभोग गर्न आम उपभोक्तालाई आग्रह गर्दछु ।’
मंसिर १५ गतेसम्म भारतलाई विद्युत निर्यात जारी रहने बताउँदै उनले हिउँदमा नदी, खोलामा पानीको बहाव घटेपछि मात्रै आयात गरिने जानकारी दिए । प्राधिकरणमा जनताले महशुस गर्नेगरी परिर्वतन ल्याउन आफुलाई सरकार र प्राधिकरणका कर्मचारीको सहयोग रहेको बताउँदै उनले प्राधिकरणको नेतृत्वमा आएको एक महिना भित्रै डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका नौ जना उद्योगले प्रिमियम महसुलको बक्यौता रकम प्राधिकरणलाई बुझाएको जानकारी दिए ।
उनले भने, ‘डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका उद्योगी, व्यवसायी उपभोक्ताहरुलाई आज आइतबार (२ गते) सम्मको समय दिएका छौ । शुक्रबारसम्म नौ जना उद्योगीले किस्ता बुझाएका छन् । आज तिहार अघिको अन्तिम दिन पनि रहेकाले बक्यौता बुझाउन बाँकी उपभोक्ताहरु किस्ता बुझाउन पक्कै आउनुहुन्छ ।’
शुक्रबारसम्म हुलास स्टिल, अशोक स्टिल, हामा आइरन, सर्वोत्तम स्टिल, लक्ष्मी स्टिल, सम्राट सिमेन्ट, शुभ श्री अग्नी सिमेन्ट, नव नेपाल प्लास्टिक र रोल्पा सिमेन्टले बक्यौता बुझाएको उनले जानकारी दिए । सबैले पहिलो किस्ता बुझाए किस्ताबन्दीको सुविधा अवधि बढाउनेबारे सरकारले निर्णय गर्ने उनको भनाई छ । विगतमा बक्यौता नतिर्ने उद्योगी, व्यवसायीको लाइन काटिएको स्मरण गर्दै उनले यसपटक पनि बक्यौता नबुझाउने उद्योगीबारे प्राधिकरणको सञ्चालक समितिमा छलफल गरेर निर्णय गरिने उनले बताए ।




प्रतिक्रिया