विशेष महाधिवेशन पक्षधर नेताहरुले भने–‘यो कार्यसमितिले म्याद थपेर पार्टीलाई नेतृत्व गर्ने नैतिक धरातल गुमाइसकेको छ’


काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरुले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राखेका छन् । पार्टीको जारी केन्द्रीय कमिटीको बैठकमा विशेष महाधिवेशनको च्याप्टर लगभग क्लोज गरिएपछि उनीहरुले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनीहरुले सार्वजनिक गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ,‘पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरूमा निहित रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि छैन।’

यस्तो छ ध्यानाकर्षण पत्र;

आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू
जय नेपाल।

Ncell
यतिबेला हामी नेपालको राजनीतिक इतिहासको गम्भीर, संवेदनशील र महत्त्वपूर्ण मोडमा छौं। गत भदौ २३ र २४ गते पश्चात् नेपालको राजनीति नयाँ र विशिष्ट चरणमा प्रवेश गरेको छ।

जेनजी आन्दोलनमार्फत नेपाली समाजको वस्तुस्थिति, मनोभावना र चाहना एकमुष्ट रूपमा मुखरित भएको छ। यस दौरान नयाँ पुस्ताले देखाएको उत्साह, प्रदर्शन गरेको अग्रसरता र न्यौच्छावर गरेको बलिदानले नेपाली समाजलाई युगौंसम्म प्रोत्साहित, रोमाञ्चित, उद्वेलित र मार्ग निर्देशित गरिरहने छ भन्ने हामीलाई लागेको छ। साथै यस दौरान भएका तोडफोड, आक्रमण र आगजनी जस्ता उग्र क्रियाकलापहरू निन्दनीय छन्, जसले हामी सबै नेपालीहरूलाई सदा बिझाइ रहनेछ।

यतिखेर सबै सचेत नेपालीहरूको एउटै चासो र चिन्ता छ। अब नेपाली राजनीति कसरी अघि बढ्ला? फाल्गुण २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचन होला कि नहोला? राजनीतिक दलहरूभित्रको उकुसमुकुसले कस्तो निकास पाउला?

यसै परिप्रेक्ष्यमा बदलिँदो राजनीतिक परिवेशलाई आत्मसात गर्दै हामी नेपाली कांग्रेसका साथीहरूले विशेष महाधिवेशनको माग गर्दै पार्टी विधानको धारा १७ (२) बमोजिम केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिसकेका छौं। र, जारी केन्द्रीय समितिको बैठकलाई सुक्ष्म रूपमा नियालिरहेका छौं।

यस सन्दर्भमा कांग्रेसको उज्ज्वल र सुरक्षित भविष्य चाहने महाधिवेशन प्रतिनिधि साथीहरू जसले पार्टीको बृहत्तर हितका लागि आफ्नो हस्ताक्षरमार्फत पार्टीको समग्र रूपान्तरण गर्ने संकल्प लिनु भएको छ, उहाँहरूलाई हार्दिक आभारसहित धन्यबाद दिन चाहन्छौं।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई हाम्रो ध्यानाकर्षण:

१) पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरूमा निहित रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि छैन।

२) पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्य समितिको असफलताको मानक स्वरूप नेपाली राजनीतिमा धेरै घटना/दुर्घटना भएको पृष्ठभूमि हाम्रो सामु छ। तसर्थ यस कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीलाई नेतृत्व गर्ने नैतिक धरातल गुमाइसकेको छ।

३) आगामी फाल्गुण २१ गते नेपाल सरकारबाट घोषित प्रतिनिधि सभाको निर्वाचन अगावै पार्टी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी आगामी चुनावमा जानुपर्ने राष्ट्रिय आवश्यकता महसुस गरि विशेष महाधिवेशनको माग गरिएको हो। यसभन्दा उत्तम हामीसँग अर्को विकल्प छैन। तसर्थ यस मागप्रति गम्भीर रहन र कार्यान्वयनतर्फ अग्रसर रहनु अनिवार्य आवश्यकता रहेको व्यहोरा पुनः स्मरण गराउन चाहन्छौं।

४) विगत तीन वटा निर्वाचनमा नेपाली कांग्रेस पार्टीले महाधिवेशन अर्थात् पार्टीभित्र नयाँ जनादेश लिएर नवनिर्वाचित केन्द्रीय कार्यसमितिले नै निर्वाचन हाँकेको इतिहास छ। त्यही भएर अहिले पनि आगामी मंसिरभित्र विधिवत महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको अपरिहार्यता हो।

५.राष्ट्रिय राजनीति अत्यन्त तीब्रताका साथ अगाडि बढिरहेको बेला बिलम्ब गर्ने, अल्मलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाई गर्ने छुट हामीलाई छैन। असोज २८ बाट प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठक बिनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक छठपछि अर्थात् कार्तिक १३ पछि मात्र डाकिएको र कहिले सकिनेसमेत टुंगो नभएकाले वर्तमान कार्य समितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्न तर्फ उद्धत रहेको प्रस्ट देखिन्छ। वर्तमान केन्द्रीय कार्यसमितिको यस्तो प्रवृत्ति आपत्तिजनक छ।

५) केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी विधानको मूलभावना, मर्म र क्षेत्राधिकार विपरीत केही सदस्यहरूले आफ्ना धारणा राख्नु आपत्तिजनक छ। केन्द्रीय सदस्यहरूका यस्ता अभिव्यक्तिले केन्द्रीय कार्यसमिति पार्टीको मूल जिम्मेदारीबाट भाग्न खोजेको र बरालिएको महसुस गरेका छौं।

अत: विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रूपमा ग्रहण गरि कार्यान्वयन तर्फ अघि बढ्न आग्रह गर्दछौं।