उतिबेला हेलिकोप्टर चढेर भागेका ओलीले अहिले ठूला कुरा गरेर देशलाई मुठभेटतर्फ लान खोज्दैछन्ः कूटनीतिज्ञ उपाध्याय (भिडिओसहित)


काठमाडौं, २ कात्तिक । कूटनीतिज्ञ एवं भारतका लागि नेपालका पूर्व राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न देशका राजदूतहरु फिर्ता बोलाएर विगतको सरकारले जे गर्यो, त्यही गर्न खोजेको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री कार्कीले सरकार बन्न नपाइ राजदूतको नियुक्ति खाली गराएको बताए । उनले यसलाई परिवक्व निर्णय भन्न नसकिने बताए । संसद् नभएको बेलामा राजदूत नियुक्ति गर्न पनि कानूनीरुपमा समस्या आउने उनको भनाइ छ ।

‘विगतको सरकारहरुले जे गर्यो, त्यही गर्ने हो भने त किन नयाँ सरकार चाहियो र ? पहिलाका सरकारहरुले पनि यसै गर्थे । सरकार बन्न पाएको छैन, राजदूतको नियुक्तिहरु खाली गर्थे । त्यसैको निरन्तरता हो भने त किन सरकार चाहियो ? परिपक्व निर्णय भन्न सकिँदैन,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले निर्वाचनलाई देशका सबै समस्याका समाधानको रुपमा लिन नसकिने बताए । संविधानसभाले संविधान बनाएपछि देशले फड्को मार्छ भन्ने सबैको विश्वास भए पनि त्यसो हुन नसकेको उनले बताए । सबैले यसको नैतिक जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

‘निर्वाचन नै समस्याको समाधान होइन । यो संविधान रहेसम्म हामीले ठूला कुरा गर्नु बेकार छ । संविधानसभाले संविधान बनाएपछि देशले फड्को मार्छ भन्ने विश्वास चाहिँ धेरै गरियो । यसको परिणाम देखाउन सकिएन । यसको नैतिक जिम्मेवारी हामी सबैले लिन सक्नुपर्छ,’– उनले भने ।

पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई मुठभेटतिर लान खोजेको आरोप लगाए । ओलीले आफैंले कार्कीलाई प्रधानमन्त्रीको रुपमा सिफारिस गरेर अहिले आफैंले विरोध गरिरहेको उनले बताए । ओली उतिबेला हेलिकोप्टर चढेर भागेको र अहिले अएर ठूला कुरा गरेर देशलाई मुठभेटतर्फ लान खोजेको उनको आरोप छ ।

‘निर्वतमान प्रधानमन्त्रीको कुराहरु सुन्छु नि । कि त भन्न सक्नुपर्थ्यो– मेरो कन्चटमा बन्दुक तेर्स्याएर सुशीला कार्कीको नाममा सिफारिस गराए भनेर त्यो पनि भन्न नसक्ने । आफैंले सिफारिस गर्ने, आफैंले विरोध गर्ने । हेलिकोप्टर चढेर भाग्ने, अहिले आएर ठूला–ठूला कुरा गरेर देशलाई मुठभेटको स्थितिमा लान खोज्ने,’– उनले भने ।