सरकारले हत्यारा र लुटेराहरुलाई नदेखेर विचरा महराजीलाई ठूलो गल्ती गर्ने मान्छे देखेछः प्रचण्ड


काठमाडौं, २ कात्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुले अपमानित गर्ने र ह्युमिलियट गर्ने कोशिस गरेको बताएका छन् । ललितपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले हत्यारा र लुटेरालाई नदेखेर कृष्णबहादुर महरालाई ठूलो गल्ती गर्ने मान्छेको रुपमा देखेको बताए । संयोजक प्रचण्डले आफू प्रधानमन्त्री भएकै बेलामा महराको कुनै गल्ती छ भने कारबाही हुनुपर्छ भनेको पनि स्मरण गरे । उनले अहिले षड्यन्त्रमार्फत प्रतिक्रान्तिकारी र भ्रष्टहरुलाई भन्दा पनि माओवादीलाई टार्गेट गरिएको उनले बताए । यसको परिणाम राम्रो नहुने प्रचण्डको चेतावनी रहेको छ ।

‘सरकारले हाम्रा साथीहरुलाई अपमानित गर्ने, ह्युमिलियट गर्ने कोशिस किन गर्यो ? त्यत्रो युवाहरुको हत्या गर्नेहरु, खुलेआम अर्बैं लुट्नेहरु चाहिँ नभएर हाम्रो विचरा महराजीलाई देखेछन् ठूलो गल्ती गर्ने मान्छे । महराबाट सुरु गरे । सरकारको रवैया होइन त ? जनताले त देखिसके नि । मैले महराजीको गल्ती छ भने कारबाही हुनुपर्छ– म प्रधानमन्त्री हुँदै भनेको थिएँ । अहिले एउटा षड्यन्त्रमार्फत प्रतिक्रान्तिकारी र भ्रष्टहरुलाई भन्दा पनि माओवादीलाई टार्गेट गर्न खोजियो भने यसको परिणाम राम्रो हुँदैन । सरकारले बुझोस् यो कुरा,’– उनले भने ।

साथै, सरकार बनाउनका लागि सहजीकरण गरेको, चुनाव नै अहिलेको विकल्प हो भनेर आफ्नो पार्टी र जनतालाई परिचलान गर्नतिर अगाडि बढिसकेको माओवादी केन्द्रमाथि कुनै पनि किसिमको अपमान, बेइमानी वा षड्यन्त्र गरिन्छ भने त्यो सह्य हुन नसक्ने उनले बताए । उनले केही आफूहरुसँग आइलाग्छ भने जाइलाग्न निर्देशन दिए ।

प्रचण्डले निर्वतमान प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई मानवीय भावना नै नभएको व्यक्तिको रुपमा चित्रण गरे । ओलीकै नेतृत्वमा देशमा विध्वंश मच्चाइएको र उनले कहिल्यै पनि पश्चाताप नै नगरेको प्रचण्डले बताए । ‘यत्रो विध्वंस उनकै नेतृत्वमा भयो । तर, कहीँकतै पश्चाताप नै नभएजस्तो, मानवीय भावना नै नभएको जस्तो,’– उनले भने ।