काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता नैनसिंह महरले आफूहरु पार्टीको नेतृत्व लिन सक्षम रहेको बताएका छन् । आज (आइतबार) कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महरले आफुहरु कांग्रेसको राम्रो उत्तराधिकारी बन्न सवल र सक्षम भैसकेको बताउँदै यस्तो बताएका हुन् । उनले भने,‘‘हामी नेतृत्व लिन सक्षम छौं । कांग्रेसको राम्रो उत्तराधिकारी बन्न हामी सवल छौं। हामी कांग्रेसको शीष नेतृत्व सम्हाल्न सक्छौं । हामी सांसद, मन्त्री र प्रधानमन्त्री बनेर देश हाक्न सक्ने क्षमता विस्तार गरिसकेका छौं।’
अहिले पार्टी सभापतिको दौडमा रहेका महामन्त्री गगन थापाले पनि कुलिङमा बस्नुपर्ने उनको मत छ । उनले भने,‘तीन पटक सांसद र मन्त्री भइसकेकाहरू, पूर्व र वर्तमान पदाधिकारीहरू, सरकार सञ्चालनको संयन्त्रमा बसेकाहरू र केपी शर्मा ओलीको नेतृत्वमा बसेकाहरूले एक पटक कुलिङमा बस्नुपर्छ ।’ गगन थापा कांग्रेस–एमालेको यसअघिको सरकारमा सरकार सञ्चालनको लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रमा थिए । महरले त्यही भूमिकालाई लिएर थापाको आलोचना गरेका हुन् ।
पार्टीको १५औं महाधिवेशन समयमा सम्पन्न गर्नेगरि यसको जिम्मा लिएका पदाधिकारीले काम नगरेको उनको आरोप छ । उनले भने,‘वर्तमान विषम परिस्थितिमा जिम्मेवार पदाधिकारीका तर्फबाट १५ औं महाधिवेशनको कार्यतालिका नआउनु दुःखद् छ । कांग्रेस विधानअनुसार पदाधिकारीहरूको कार्यविभाजन भएको थियो, तर समयमै आ–आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा १५औं महाधिवेशन समयमै सम्पन्न गर्न चुनौति देखिएको छ ।’




प्रतिक्रिया