माओवादी फुटाउन देशी-विदेशी शक्ति र खर्च परिचालन


काठमाडौं, २ कात्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी विभाजन गराउनका लागि विभिन्न देशी–विदेशी शक्ति र खर्च परिचालन भइरहेको बताएका छन् । आज (आइतबार) माओवादी केन्द्र ललितपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी फेरि फुटाउने, माओवादीभित्र दिग्भ्रम सिर्जना गर्ने र कसलाई के भनेर उचाल्न सकिन्छ भनेर भाँड्ने जस्ता निकै ठूला–ठूला कसरत भइरहेको बताएका हुन् ।

‘प्रतिकृयावादीहरु, देशभित्रका, बाहिरका साम्राज्यवादीहरु, दलालहरु हाम्रो पार्टीभित्र भाँडभैलो के गरी पार्ने होला भनेर पनि निकै ठूलो शक्ति र खर्च गरेका छन् । हेर्नुहोला तपाईँहरु सबैले– निकै ठूलो शक्ति पनि लागेको छ, माओवादीलाई फेरि फुटाउने, माओवादीभित्र दिग्भ्रम सिर्जना गर्ने, कसलाई के भनेर उचाल्न सकिन्छ, के भनेर भाँड्न सकिन्छ ? त्यो भन्ने निकै ठूलो कसरत छ,’– प्रचण्डले भने ।

माओवादीको केन्द्रीय समितिबाट प्रतिकृयावादीहरुको षड्यन्त्रलाई परास्त गर्ने विचार र विधिको प्रयोग गरिएको र तत्काल त्यो टरे पनि उनीहरु नरोकिएको उनले बताए । प्रचण्डले केही समयभित्र समाजवादी मोर्चा र त्यो भन्दा बाहिरका पनि केही क्रान्तिकारीहरुको बीचमा एकता घोषणा हुने स्थिति बनिराखेको बताए । साथ–साथै एकता हुन नदिनको लागि पनि त्यतिकै कसरत भइरहेको उनले बताए ।

उनले पार्टीभित्रको घुसपैठ, प्रतिकृयावादीहरुको भाषा बोल्ने, प्रतिकृयावादीलाई फाइदा हुने व्याख्या गर्ने, आफ्नै पार्टी र लिडरसीपलाई कमजोर पार्ने जस्ता काम भइरहेको बताए । उनीहरुले प्रचण्डलाई नसिध्याएसम्म केही पनि हुँदैन भन्ने भाष्य बनाउन खोजेको पनि उनले बताए । साम्राज्यवादी, प्रतिक्रियावादी र माओवादीका पनि केही मान्छेहरुले प्रचण्डलाई नसिध्याइ केही हुँदैन भन्न थालेको उनले बताए । File Photo/RN