काठमाडौं, २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जेन–जी विद्रोह आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने कुरामा असफल भएको बताएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले जेन–जी आन्दोलन संसद् भंग गर्ने र अन्तरिम सरकार बनाउनेसम्म पुगे पनि बलिदान, जीवनको आहुती, नेपाली जनताले दिएको साथ, लाखौं जनता सडकमा निस्किएको आन्दोलनको मर्मलाई पूरा गर्नेखालको राजनीतिक उद्देश्य भने प्राप्त हुन नसकेको बताएका हुन् । जेन–जी आन्दोलनको जगमा बरु उल्टो नयाँ षड्यन्त्रहरु देखिएको विप्लवको भनाइ छ ।
विप्लवले जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार उनीहरुले उठाएको मागअनुकूल र अनुरुप नभएको बताए । कार्की नेतृत्वको सरकार बनाउँदाखेरी नै एकदम रहस्यमय तरिकाले बनाइएको र यसको जिम्मा लिने कोही पनि रहेको उनले बताए । उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले मन्त्रीहरुको नियुक्ति पनि जेन–जीको भावनाविरीत गरेको बताए ।
‘अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार त गठन गरिएको छ । तर, यो अन्तरिम सरकार हाम्रो बुझाइमा चाहिँ जेन–जी आन्दोलन, त्यसले ल्याएको विद्रोह र त्यसले उठाएका मागको अनुकूल, अनुरुप भएन । यो बनाउँदाखेरी नै एकदम रहस्यमय तरिकाले बनाइयो । यो सरकार हामीले बनाएको हो भनेर जिम्मा लिन कोही पनि तयार छैन । प्रधानमन्त्रीमात्रै होइन, मन्त्रीहरु कसरी बने भन्नेबारेमा आज भयांकर विवादहरु छन् । स्वयं जेन–जीहरुले त्यसलाई अवरोध गरिराखेका छन् र मन्त्रीहरु जेन–जी आन्दोलनको भावनाविपरीत आए भन्ने कुरा उठिराखेको छ,’– उनले भने ।
मन्त्रिपरिषद्मा जेन–जीको सहभागिता नै हुन नसकिराखेको र जेन–जी आफैं विवादमा रुमलिने स्थिति बनिराखेको उनले बताए । जेन–जी विद्रोहपछि पनि देशले निकास पाउन नसकेर अलमलमा र असफलतातिर धकेलिएको उनले बताए । यसले अर्को नयाँ अराजकताको स्थिति ल्याउने आफ्नो पार्टीको विश्लेषण रहेको पनि विप्लवले बताए । उनले भ्रष्टाचारको विरुद्धमा, यो व्यवस्थाको अपूर्णता र समस्याको बारेमा, यसको कार्यकारी स्वरुप, व्यवस्थापकीय प्रणालीको बारेमा पुनर्संरचना आवश्यक आवश्यक भएको खण्डमा यसको बोध नै नगरिएको बताए । वर्तमान सरकार खारेज गरिनुपर्ने र यसैलाई टेकेर सर्वपक्षीय अन्तरिम सरकार गठन आजको आवश्यकता रहेको विप्लवको निष्कर्ष छ । यसरी बन्ने अन्तरिम सरकारमा उत्पीडित, मजदुर, किसान, दलित, महिला, जनजाति, मधेश, पहाड, बुद्धिजीवी, वैज्ञानिक, व्यवसायीहरु र लामो समयदेखि भ्रष्टाचार, स्वाधीनताजस्ता विषयमा लड्दै आएका राजनीतिक दलहरुको सहभागिता आवश्यक रहेको उनले बताए ।
‘यो सरकारलाई हाम्रो भनाइ के छ भने– यसलाई खारेज गर्नुपर्छ । वा यसलाई टेकेर अर्को नयाँ अन्तरिम सरकार, सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ । जो हामीले आन्दोलनको बीचमै पनि भनेका थियौं–त्यसमा जेन–जीका प्रतिनिधिहरु प्रत्यक्ष सहभागी बन्नुपर्छ । नेपालको उत्पीडित, मजदुर, किसान, दलित, महिला, जनजाति, मधेश, पहाड, बुद्धिजीवी, वैज्ञानिक, व्यवसायीहरु सहभागी र राजनीतिक दल, जसले लामो समयदेखि भ्रष्टाचार, स्वाधीनताजस्ता विषयमा लड्दै आएका छन् । नेकपालगायत सत्ताभन्दा बाहिर बसेर राष्ट्रिय स्वाधीनताको पक्षमा लडेकादेखि लिएर सर्वपक्षीय अन्तरिम सरकार निर्माण गर्नुपर्छ,’– उनले भने ।
यसरी बन्ने अन्तरिम सरकारले उच्चस्तरी संविधान सुधार आयोग गठन गर्नुपर्ने र त्यसबाट संविधान संशोधन गरिनुपर्ने विप्लवको भनाइ छ । विप्लवले शासकीय स्वरुप, व्यवस्थापकीय प्रणाली, प्रत्यक्षकारीकारी निर्वाचन हुने प्रणाली चाहिने र अनिमात्रै चुनावमा जाने आफूहरुको प्रस्ताव रहेको बताए । भ्रष्टाचारीहरुलाई कारबाही गर्ने जेन–जीको माग पनि अलपत्र परेको उनले बताए । देशको सम्पत्ति हिनामिना गर्ने भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने आफ्नो पार्टीको मत रहेको विप्लवले बताए ।




प्रतिक्रिया