काठमाडौं, २ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग आफूलाई गिरफ्तार गर्ने उद्देश्यले बनाइएको बताएका छन् । आज (आइतबार) सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपयहरु केपी ओलीलाई थुन्न सकिन्छ भन्ने अपराध गर्नमा लागिरहेको बताएका हुन् । उनले आफूले गिरफ्तारीमा पर्ने काम कहिल्यै नगरेको पनि ओलीले बताए । आफूले काम गर्ने बेला मनले नभएर मस्तिष्कले काम गरेको पनि बताए ।
‘आयोग बन्यो कुन उद्देश्यका लागि ? आयोग कसले बनायो भन्दा केपी ओलीलाई गिरफ्तार गर्नैपर्छ, थुन्नैपर्छ भन्नेले । कतिपयलाई लाग्ला– केपी ओलीलाई थुन्न सकिन्छ, थुन्ने अपराध गर्न सकिन्छ । अपराध हो त्यो, गर्न सकिएला । कुनै हिसाबले गिरफ्तार गर्ने र थुन्ने केपी ओलीले कहिल्यै काम गरेन । सोच विचार गरेर मात्रै काम गर्छ । काम गर्ने बेलामा मनले काम गर्दैन, मस्तिष्कले काम गर्छ । भ्रष्टाचार, अनैतिकता, दुर्व्यवहार, नराम्रो आचरण पनि गर्दैैन । सकेको काम गर्छ,’– उनले भने ।
ओलीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा बयान दिन नजाने पनि प्रष्ट पारेका छन् । ‘केपी ओली सोझो छ भन्दैमा आयोगहरु जसले जहाँ–जहाँ बनाउँदै हिँड्छ, जसले सोध्दै जान्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम केपी ओलीले गर्दैन । थाहा होस् । कुनै भ्रममा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैैन,’– उनले भने ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भएको दमन, तोडफोड र आगजनीको सन्दर्भमा छानविन गर्न सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको छ । उक्त आयोगले ओलीको पासपोर्टसमेत रोक्का राख्न पत्राचार गरेको छ भने ओलीलाई काठमाडौं उपत्यका छाड्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।




प्रतिक्रिया