काठमाडौं, २ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नाम सिफारिश गरेर राष्ट्रपतिलाई कुनै पत्र नलेखेको दाबी गरेका छन् ।माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले हिजोमात्रै ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिश गरेर राष्ट्रपतिलाई लेखेको पत्र आफूले पढेको भनेका थिए । त्यसको भोलिपल्ट आज सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले त्यस्तो पत्र भए सार्वजनिक गर्न प्रचण्डलाई चूनौति दिए ।
उनले भने,‘मैले त्यही सहमति अनुसार, मैले त्यो भाषामा सिफारिस गरेको थिएँ । परेको बेलामा प्रति त निस्किन्छ । सुशीला कार्कीजीको मैले कतै सिफारिस गरेको छु भने फ्ल्यास गरिदिए हुन्छ । प्रचण्डजीसँग प्रमाण छ भने निकालिदिए हुन्छ त ?’ सो क्रममा उनले आफूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लेखेको सिफारिश पत्रको व्यहोरो वाचन गरेर सुनाएका थिए ।
यस्तो छ उनको सिफारिश पत्रको व्यहोरो :
“वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिमा परिस्थितिलाई नियन्त्रण गरेर, संविधान र लोकतान्त्रिक परिपाटी र शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले र यस्तो समाधान संविधान र लोकतान्त्रिक प्रणाली, प्रक्रिया भित्रैबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधान भित्रबाटै अहिलेको परिस्थितिको उपयुक्त निकासका लागि आवश्यक कदम चाल्न सिफारिस गर्दछु ।”




प्रतिक्रिया