‘जनतालाई केपी ओली शासनमा फर्किएर आउने डर छ भने भोट हाल्दैनन्, म तोडफोड र आगजनी गरेर आउने मान्छे होइन’


काठमाडौं, २ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई केपी ओली शासन सत्तामा फर्किएर आउने डर भएको खण्डमा भोट नहाल्ने बताएका छन् । आज (आइतबार) सम्पादकहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू जेन–जी आन्दोलनको नाममा तोडफोड र आगजनी गरेर शासन सत्तामा पनि नआउने बताए ।

‘जनतालाई केपी ओली शासनमा फर्किएर आउने डर छ भने त भोट हाल्दैनन् होला नि त । भोट नहालेपछि त आउँदैन होला । म त जेन–जीको आन्दोलन भनेर तोडफोड र आगजनी गरेर आउने मान्छे त होइन,’– उनले भने ।

अध्यक्ष ओलीले बंगलादेशमा शेख हसिनालाई ७५ वर्षको बुढी मान्छे भनेर हटाएर फ्रान्सबाट ८५ वर्षका जेन–जी युवा खोजेर ल्याएर शासक बनाइएको टिप्पणी गरे । उनले नेपालमा पनि त्यस्तै रमाइलो भइरहेको बताए । नेपालमा राजनीतिक दल र नेतासँग घृणा फैलाइएको उनले बताए । जेन–जीको नाममा अनुभव नै नभएका यो ओलम्पिकमा पठाइएको र सेलेक्सन नै नभएको उनको भनाइ छ ।

साथै, उनले अहिलेको सरकारले आफ्नो बैंक खाता रोक्का राख्ने भनेको पनि जानकारी पाएको बताए । उनले आफू सांसद र प्रधानमन्त्री हुँदा पाएको तलबबाट २०÷२५ लाख बैंकमा हुन सक्ने बताए । त्यही रोक्का राख्नका लागि आयोग नै बनाइराख्नुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ । उनले केपी ओलीको नाममा कहीँकतै सम्पत्ति लुकाएको जस्तो लाग्छ भने विश्वभरीका सरकारलाई सूचना जारी गरेर सम्पत्ति खोज्न पनि उनले चुनौती दिए ।

‘खाता रोक्का गर्ने भनेको पनि सुन्छु । मैले सांसदको हैसियतमा प्राप्त गरेको, प्रधानमन्त्रीको हैसियतमा प्राप्त गरेको केही स्यालरी बैंकमा छ । त्यही रोक्ने होला । २०÷२५ लाख हुनसक्छ । त्यसको लागि आयोग चाहिन्छ र ? विश्वभरीका सरकारलाई सूचना जारी गरेर केपी ओलीको सम्पत्ति पठाइदेउ भने भयो । यो आक्रोश आवेग भन्दा पनि म चाहन्छु– सत्य स्थापना होस्,’– उनले भने ।