मैले असली जेन-जीका नेताहरु भेटेको छु, उनीहरु हजुरआमालाई प्रधानमन्त्री सिफारिस गरेको थिएनौं भन्छन्ः केपी ओली


काठमाडौं, २ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले असली जेन–जीका नेताहरुलाई भेटेको बताएका छन् । जेन–जीका नेताहरुले आफूसँगको भेटमा आन्दोलन र मागहरु हाइज्याक भएको भनी सुनाएको पनि ओलीले बताए । जेन–जी नेताहरुसँगको भेटमा उनीहरुले आफूहरुले अनिर्वाचित र असंवैधानिक रुपमा हजुरआमा (सुशीला कार्की) लाई प्रधानमन्त्रीमा सिफारिस नगरेको बताएको पनि ओलीको दाबी छ ।

‘आज काठमाडौंमा सम्पादकहरुसँग कुराकानी गर्दै ओलीले भने, ‘मैले असली जेन–जीका नेताहरुलाई भेटेको छु, सोधेको छु, कुरा गरेको छु । आगो कसले लगायो थाहा छैन, हाम्रा मागहरु हाइज्याक भए । हाम्रो आन्दोलन हाइज्याक भयो । हामीले अनिर्वाचित, असंवैधानिक कुनै हजुरआमालाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको थिएनौं, हाम्रो माग होइन भन्छन् त,’– उनले भने ।

जेन–जी आन्दोलनको माग भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र रोकिएका सामाजिक सञ्जालहरु खुलाइनुपर्छ भन्ने रहेको र उनीहरुले कहिल्यै पनि प्रधानमन्त्रीको राजीनामा माग नै नगरेको पनि ओलीले बताए ।

ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि २७ गतेसम्म सेनाको सुरक्षामा रहँदा आफूलाई मोबाइल चलाउनसमेत नदिइएको बताए । ‘राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ । प्रधानमन्त्रीको शपथग्रहणभन्दा अगाडि मैले मोबाइल लिन पाएको थिईनँ । मोबाइल सिज गरिएको थियो । २७ गते बेलुकासम्म सम्पर्कमा रहिनँ,’– उनले भने ।