जाँचबुझ आयोग गठन भइसकेको सन्दर्भमा ओली, लेखकलाई पक्राउ गर्न मिल्दैनः पूर्व महान्यायाधिवक्ता संग्रौला (भिडिओसहित)


काठमाडौं, २ कात्तिक । पूर्व महान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौलाले जाँचबुझ आयोग गठन भइसकेको अवस्थामा जेन–जी आन्दोलनको विषयलाई लिएर अहिले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न नसक्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आयोगले प्रमाण संकलन गरिराखेको खण्डमा प्रहरीले ओली लेखकलाई पक्राउ गर्न नसक्ने बताएका हुन् । उनले भदौ २३ र २४ गतेको घटना जाँचबुझका लागि बनेको आयोगलाई पुरानो सरकारका मान्छेहरुलाई कारबाही गर्ने आयोगको रुपमा बुझ्न नहुने बताए ।

‘आयोग गठन नगरी प्रहरीले प्रक्रियामा पक्राउ गरेर, अदालतको म्याद लिएर गएको भएदेखि मिल्थ्यो । तर, त्यो प्रक्रियामा नगएर पहिला हामी प्रमाण संकलन गर्छौं भनियो । एकातिर प्रमाण संकलन गर्दैहुनुहुन्छ अर्कोतिर कारबाही गर्न मिल्दैन । त्यसैले यो राजनीतिक प्रणाली र देशको प्रशासनीक संयन्त्र नबुझेका युवा पुस्ता जेन–जीहरुहरुले माग गरेका थिए । यो आयोग त पुराना सरकारका मान्छेलाई कारबाही गर्न बनेको होइन नि । त्यो त प्रमाण संकलन गर्न, प्रमाणको अनुसन्धान गर्न, प्रमाणको विश्लेषण गर्नका लागि बनेको हो,’– उनले भने ।

साथै, उनले सुशीला कार्कीलाई प्रधानमन्त्री बन्नका लागि तत्कालीन प्रधानमन्त्री केपी ओलीले नै सिफारिस गरेको बताए । आफैंले सिफारिस गरेको प्रधानमन्त्रीलाई अहिले ओलीले गैरसंवैधानिक भन्न नमिल्ने उनको तर्क छ । ‘सुशीला कार्कीजीलाई प्रधानमन्त्री बन्न सिफारिस कसको हो ? केपीजीको होइन ? उहाँले असंवैधानिक भन्न मिल्छ ? कि मैले सिफारिस गरेको कुरा गलत हो भन्नुपर्यो,’– उनले भने ।

लोकतान्त्रिक इतिहासमा ओली, शेरबहादुर देउवा, माधव नेपाललगायतको योगदान कम नरहेको पनि उनले बताए ।