हिजो कम्युनिष्टसँग सहकार्य गरेर गल्ती भयो, अब संसद् पुनर्स्थापनाबारे सोच्नुपनि हुँदैन् : कांग्रेस नेता श्रेष्ठ


काठमाडौं, कार्तिक ३ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट पार्टीलाई पटक–पटक धोका भएको बताएका छन् । कम्युनिष्ट विचारधारा भएका पार्टीसँगको सहकार्यकै कारण पार्टीमा पछिल्लो अवस्था आएको बताउँदै उनले एमालेले निर्वाचनमा जाँदैनौ भन्दैमा उसको पछि लागेर हिजोको गल्ती दोह¥याउन नहुने स्पष्ट पारे ।

नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले भने, ‘नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो । हामीले निर्वाचनमा भाग लिदैनौं भन्न मिल्दैन् । विपी कोइरालाले कम्युनिष्टसँग कहिले नमिल्नु भनेजस्तै अव एमाले अध्यक्ष ओलीले निवार्चनमा जाँदैनौ भन्नेवित्तिकै उनको पछिपछि लाग्नु हुँदैन् । हिजो कम्युनिष्टसँग सहकार्य गरेर गल्ती गरिएपनि अव एमालेसँग मिलेर संसद् पुर्नस्थापनातर्फ लाग्ने गल्ती गर्नुहुँदैन् ।’

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण बनाउन नसकेको बताउँदै उनले देशमा शान्ति/सुरक्षाको अवस्था नाजुक रहेकाले सर्वदलीय बैठक बसेर मन्त्रीपरिषद्लाई विस्तार गर्दै निर्वाचनका लागि निश्पक्ष र भयरहित वातावरण बनाउनुपर्नेमा जोड दिए ।

उनले भने-‘अहिलेसम्मका निर्वाचन सबैभन्दा ठूलो दलको हिसावले नेपाली कांग्रेसको नेतुत्वदायी भूमिकामा सम्पन्न भएका छन् । आवश्यक भयो भने फेरी सर्वदलीय सरकार वा राष्ट्रिय सरकार बनाएर भएपनि निर्वाचन गराउनुपर्छ । निर्वाचन नभए देश पुनः अर्काे दुर्घटनामा जानसक्ने भएकाले नेतृत्वदायी भूमिकासहित कांग्रेस निर्वाचनमा जानुपर्छ ।’

राष्ट्र. राष्ट्रियता र लोकतन्त्र जोगाउन कांग्रेस निर्वाचनमा जान तयार रहेको बताउँदै उनले जेन-जी आन्दोलनका क्रममा लुटिएका हातहतियार र जेलबाट भागेका कैदीहरु नियन्त्रणमा आउनुपर्ने, प्रहरीको मनोवल उच्च बनाउँदै समाजमा शान्ती, अमनयन र सामाजिक सद्भाव कायम राखेर निर्वाचन सफल बनाउनसकिने बताए ।