राष्ट्रपति र सेनाबीच राजा फर्काउने छलफल भएको नेता मैनालीको दाबी, ज्ञानेन्द्रले नै नमानेको खुलासा (भिडिओसहित)


काठमाडौं, ३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव सिपी मैनालीले अहिलेको डेमोक्रेसीलाई अगाडि बढाउनका लागि राजसंस्थाको भूमिका अपरिहार्य रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले खाले देशभक्तहरु एक ठाउँमा आएर राजालाई स्थान दिनुपर्ने बताएका हुन् ।

‘हामीले हिजो राजसंस्थको विरोधमा लड्दै आएपनि दलहरुले जुन ढंगले जनघाती कामहरु गरे, यसले गर्दा देश आज यति थलालिङ्ग भएको छ कि यसलाई सम्हाल्नको निम्ति सबै खाले देशभक्तहरु, राष्ट्रवादी देशभक्तहरु जो राजादेखि रङ्कसम्म पर्छन् । स्वतन्त्र देशभक्तहरु, प्रजातन्त्रवादी देशभक्तहरु, मार्क्सवादी देशभक्तहरु, सबै देशभक्तहरु एक ठाउँमा आउनु पर्छ । अहिलेको डेमोक्रेसीलाई अगाडि लान राजसंस्थालाई पनि भूमिका दिनुपर्छ,’– उनले भने ।

उनले अहिले नेपाल विदेशीहरुको खेल मैदान बन्न पुगेको र यो सबै गर्ने श्रेय यहाँका दलहरुलाई नै जाने बताए । कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुको कारणले देश यो ठाउँमा आइपुगेको उनले बताए । नेता मैनालीले अब राजसंस्था ब्यूतिँदा ज्ञानेन्द्र शाह फेरि राजा बन्ने उनले दाबी गरे । ‘अहिले ज्ञानेन्द्र शाहबाहेक को बन्छ त ?’ उनले भने ।

नेता मैनालीले गत भदौ २४ गते राष्ट्रपति, सेनालगायतको छलफलमा राजसंस्था व्युँताउनेबारे छलफल भएको उनले दाबी गरे । पूर्व राजा ज्ञानेन्द्रले आफ्नो पुनरागमनमा दलहरुको सहमति खोजेको र त्यो सम्भव नभएपछि पूर्वराजाले धमिलो पानीमा माछा मार्ने काम नगरेको उनको दाबी छ ।