प्रधानमन्त्री कार्कीको पहिला प्राथमिकताः भ्रष्टाचार र जेन-जी आन्दोलनको क्रममा भएको दमन तथा हिंसाको छानविन


काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य प्राथमिक जिम्मेवारी रहेको बताएकी छन् । दिपावलीको अवसरमा भिडिओ सन्देश जारी गर्दै उनले जेनजी आन्दोलनले आफूहरुमाथि सुम्पेको भरोसा र दायित्वको सम्मान गरिने बताएकी छन् ।

सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने दृढ प्रतिबद्धता प्रकट गरेको पनि उनले दाबी गरेकी छन् । जेनजीले चाहेको सुशासन र विकासको आधारशीला तयार पनि भएको उनको दाबी छ ।

प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र स्थिर सरकार दिने प्रतीज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागिपरेको पनि बताएकी छन् । यसका निम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारको काम सन्तोषजनक ढंगले अघि बढिरहेको उनको भनाइ छ ।