ओली र लेखकले ‘गोली चलाउन आदेश दिइएको थिएन’ भनेर छुट पाउन हुँदैन, अनुसन्धान गरिनुपर्छः सीपी मैनाली (भिडिओसहित)


काठमाडौं, ३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव सीपी मैनालीले जेन–जी आन्दोलनको क्रममा गोली चलाउने आदेश दिइएको थिएन भनेर तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले उन्मुक्ति पाउन नहुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले जेन–जी आन्दोलनको क्रममा गोली चल्नुमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको भूमिका रहेको बताएका हुन् ।

‘उहाँहरुले मैले गोली चलाउन आदेश दिएको थिइनँ भनेर छुट पाउनुहुन्न । जेन–जी विद्रोहको कुरा तीन÷चार दिनअघि देखि नै सार्वजनिक भइसहेको कुरा हो । सरकारसँग अनुमति लिएर नै उनीहरुले आन्दोलन गरेका हुन् । त्यसबेलामा उनीहरुले वार्ता गरेर समस्या हल गर्न पनि सक्थे । मूलतः प्रधानमन्त्री र गृहमन्त्रीको यसमा भूमिका हुने नै भयो,’– उनले भने ।

साथै, उनले नेकपा (एमाले) का अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री अ‍ोलीलाई धेरै फुर्ती नलगाउन चेतावनी दिए । उनले तोप नै हाने पनि सरकार ढल्दैन भन्ने ओलीले जेन–जी आन्दोलनको क्रममा पाँच मिनेट ढिलो भएको भए मलाई मार्ने रहेछन् भनेर अभिव्यक्ति दिएको पनि उनले स्मरण गराए । प्रधानमन्त्री ओलीको राजीनामा आउन ढिला हुँदा भदौ २४ गतेको बितण्डा भएको उनको दाबी छ ।

‘उहाँ (केपी ओली) ले धेरै फुर्ती लगाउनुपर्दैन । केही दिनअघि तोप नै हाने पनि सरकार ढल्दैन भन्दैथिए । जेन–जी आन्दोलनको क्रममा पाँच मिनेट ढिला भएको भए उनी मर्ने थिए । आफैं भनेका छन् । केपी ओलीको कुरालाई महत्व दिने कुरै छैन अहिले । उनी जिम्मेवार मान्छे हुन् भने २३ गते नै राजीनामा दिनुपर्थ्यो,’– उनले भने ।

नेता मैनालीले अबको निकास चुनाव नरहेको दाबी गरे । देशले संविधानमा रहेका कयौं कमजोरीहरुको परिर्वतन आवश्यक ठानेको भन्दै उनले त्यसतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले जेन–जीले परिवर्तनको सुरुवात गरेको र अहिले सबै जना परिवर्तनको संक्रमणकालमा रहेको पनि बताए ।

‘अबको निकास यो चुनाव पनि होइन । किनभने अहिले देशले संविधानमा रहेको कयौं कुराको परिवर्तन खोजेको छ । शासकीय स्वरुप, यो व्यवस्थामै परिवर्तन खोजेको छ । जेन–जीको विद्रोहले परिवर्तनको काम त सुरु गर्यो, अहिले हामी परिवर्तनको संक्रमणमा छौं । यो संक्रमणमा जेन–जीको विद्रोहले मागेको परिवर्तनलाई प्राप्त नगरीकन पुरार्नै सिस्टमको आधारमा निर्वाचन गर्नाले समस्याको समाधान हुँदैन,’– उनले भने ।