उज्यालो शुभ-कामना !


अँध्यारो औँसीसँगै उभिएको तिहार
नुहाउँछ दीपकहरूले र
उज्यालिन्छ पखालेर कल्मष रात
झुल्क्याउँछ सूर्योदयको प्रदीप्ति
इलममा टाढा परदेश गएको भाइ
अँगालोभरि प्रेम बोकेर फर्किन्छ घर
र बाँधेर ल्याएको कोसेली फुकाएर प्रेमको
बाँडिदिन्छ मनभरिभरि
अनि उज्यालो बालेर तिहार
मखमली माला र सप्तरंगी टीका
पहिरिएर उक्लिन्छ मनभरि !

खुसी र उमंग कतिकति !!
जो बल्छन् हरेक दियो र बातीसंगै
काग हर्षले कराउँछ
कुकुर स्नेहले सुमसुम्याउँछ
गाईप्रतिको सम्मान र श्रद्धा
दिदीभाइ र दाजुबहिनी सबैको
एकमुष्ट माया, स्नेह र सद्भाव बोकेर
आउँछ तिहार !!

पीडा त कति छन् कति मनमा !
औँसी ओढेको रातजस्तै
विच्छेद भएको सम्बन्धजस्तै
विस्मृतिमा अलमलिएको समयजस्तै
या काम नलाग्ने भनेर छोडिएका,
फ्याँकिएका पुराना सामानलाई
बटुलेर काम चलाएजस्तै
पुछपाछ गरेर फेरि अँगाल्नु पर्छ
विडम्बना होइन
नियति हो सायद
अझ पुन: नवीकृत लाइसेन्सजस्तो
यो व्यवहार
यो सम्बन्ध
यो उज्यालो
नयाँ बल्ब हालेर बालेको कोठाजस्तो
हामी फेरि भेटियौं र अंकमाल गर्यौं
सयपत्री-मखमली,
देउसी- भैलो
संगीत र रंगहरूमा
खुसीका यी यात्रामा
अन्जुलीभरिको उज्यालो कामना
यमपन्चक तथा भाइटीकाको
हार्दिक मंगलमय शुभकामना !!

बसन्त चौधरी
कार्तिक कृष्ण चतुर्दशी
२०८२