काठमाडौं, कार्तिक ४ । नेपाली कांग्रेसले आज प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सात राजनीतिक दलका नेताहरुसँगको छलफलमा निर्वाचनका लागि सुरक्षाको प्रत्याभुतिबारे सरकारको ध्यानाकर्षण गराउने भएको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन गराउन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण नरहेकाले निर्वाचनमा जाने सुरक्षा प्रत्याभूतिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने कांग्रेस नेता श्याम घिमिरेले बताए ।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको हतियार लुटपाट, आगजनी, तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन नसक्ने र फरार कैदीलाई नियन्त्रणमा लिन नसक्ने सकारको निर्वाचन गराउने मानसिकता नरहेको उनको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदीका कारण निर्वाचन सुरक्षा चुनौती बढेकाले वर्तमान जटिल राजनीतिक परिस्थितिलाई सहज बनाएर निर्वाचन गराउन सरकार तत्पर नदेखिएकोको बताए ।
उनले भने, ‘प्रहरीका हातहतियार, गोली लुटिएका छन् । कार्यालय जलाइएका छन् । सरकारले निर्वाचनको वातावरण बनाउन अहिलेको अवस्थालाई लयमा फर्काउनु पर्छ । लुटपाट, आगजनी गर्नेलाई कारबाहीको दायरमा ल्याउनुपर्छ । १२ सय भन्दा बढी प्रहरीका हतियार लुटिएका छन् । कैदी र हतियार नियन्त्रणमा लिन नसकेको अवस्थामा सकारको निर्वाचन गराउने मानसिकता देखिदैन् ।’
सरकारले राजनीतिक संवाद र सुरक्षा व्यवस्थामार्फत राजनीतिक दलहरुलाई महशुस हुनेगरी सुरक्षाको प्रत्याभुति गराउनुपर्ने उनले बताए । स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित रुपमा निर्वाचन हुने वातावरण बनाउन सरकारले दलहरुलाई विश्वासमा लिएर तयारी अघि बढाउनुपर्ने उनको भनाई छ । निर्वाचनमा जान शान्ति सुरक्षालाई लिएर अविश्वास पैदा हुने अवस्थामा दलहरु निर्वाचनमा सहभागी नहुने उनले बताए ।




प्रतिक्रिया