काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्रीको कार्यालयले अधिवक्ता स्वागत नेपालविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ । अधिवक्ता नेपालले प्रधानमन्त्री सुशीला कार्कीको नैतिकतामाथि प्रश्न उठाएको भन्दै प्रधानमन्त्रीको कार्यालयले ब्युरोमा उजुरी दिएको हो । आफूविरुद्ध प्रधानमन्त्रीको कार्यालयबाट उजुरी परेको अधिवक्ता नेपालले पुष्टि गरे । आफूविरुद्ध उजुरी परेको अनुसन्धानका लागि आइदिनुपर्यो भनेर हिजो (सोमबार) फोन आएको अधिवक्ता नेपालले बताए ।
‘मलाई हिजो ४ बजेर २७ मिनेटमा साइबर ब्यूरोबाट फोन आएको थियो । प्रधानमन्त्री कार्यालयबाटै सिधै तपाईँलाई उजुरी परेको छ । तपाईँले प्रधानमन्त्रीको नैतिकताको बारेमा प्रश्न उठाएर सञ्चार माध्यमहरुमा अन्तरवार्ता दिएको, बोलेकाले साइबर अपराधमा अनुसन्धान गर्नका लागि भनेर आएको छ हामीलाई भनेर भनियो । तपाईँ यहाँ आउनुपर्यो भनियो,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै अधिवक्ता नेपालले भने ।
उनले आफूले प्रधानमन्त्री कार्की संसारकै अनैतिक व्यक्ति हो भनेर अन्तरवार्ताहरुमा भनेको पनि स्वीकार गरे । प्रधानमन्त्री कार्की प्रधानन्यायाधीश भएको बेलामा उनले आफ्नै हातले प्रधानन्यायाधीश भएको व्यक्ति प्रधानमन्त्री हुन पाउँदैन भनेर सही गरेको र अहिले ‘म हो भने चाहिँ मिल्छ’ भनेर प्रधानमन्त्री बनेको बताए ।
अधिवक्ता नेपालले भने, ‘उहाँ संसारकै सबैभन्दा अनैतिक प्रधानन्यायाधीश भएको प्रधानमन्त्री हो । किनभने आफ्नै हातले उहाँले सही गर्नुभएको छ– प्रधानन्यायाधीश भइसकेको मान्छे प्रधानमन्त्री बन्न मिल्दैन भनेर । तर, म हो भने चाहिँ मिल्छ भनेर जानुभयो ।’




प्रतिक्रिया