हामी निर्वाचनबाट टाढा जाँदैनौं, तर निर्वाचनको वातावरण बन्नुपर्छ : प्रधान (भिडिओ सहित)


काठमाडौं, कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको आजको ७ दलको बैठकमा सहभागी हुने वा नहुने भनेर निधो नभएको बताएका छन् । बैठकमा सहभागिता जनाउने वा नजनाउने भन्ने विषय छलफल गरेर तय गरिने उनको भनाई छ ।

आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले निर्वाचनबाट आफूहरु नभाग्ने बताए । निर्वाचन आयोगले बोलाएको हालैको बैठकमा समेत आफ्नो दलको सहभागिता रहेको स्मरण गराउँदै प्रधानले २१ फागुनमा तय भएको प्रतिनिधिसभाको निर्वाचनको लागि राप्रपा नकारात्मक नरहेको जिकिर गरे । उनले भने,‘निर्वाचनको लागि वातावरण बन्दाखेरि हामी निर्वाचनबाट टाढा जाँदैनौं । अन्ततः निर्वाचनमा जानैपर्ने अवस्था सिर्जना हुन्छ ।’