काठमाडौं, ४ कात्तिक । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीको छ महिने कार्यकालपछि ५ वर्ष काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सत्ता कब्जा गर्ने रणनीति रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा सोही ग्राण्डडिजाइनअन्तर्गत अहिले कार्कीको नेतृत्वमा सरकार बनेको दाबी गरे । उनले बालेनहरुले देशभरीबाट उठ्ने १ सय ६५ जना उम्मेदवार पनि तयार गरिसकेको बताए ।
‘अहिलेलाई प्रधानमन्त्री सुशीला कार्की, छ महिना पछाडि चुनाव गराइसकेपछि ५ वर्षलाई बालेन भनेको सत्ता कब्जा गर्ने । १६५ जना यिनीहरुले तयारी गरेका थिए देशभरी,’– उनले भने ।
प्रसाईँले अहिलेकी प्रधानमन्त्री कार्कीदेखि क्याविनेटमा रहेका मन्त्रीहरु अमेरिकाबाट परिचालित रहेको आरोप पनि लगाए । उनले बालेन,अहिलेको क्याबिनेटमा भएका प्रधानमन्त्री सुशीला कार्कीसहित यिनीहरु पश्चिमबाट, अमेरिकाबाट परिचालित छन् ।
उनले बालेनलाई कारबाही गर्ने मान्छे समयले जन्माउने बताए । उनले यो सरकारको आयु अबको दुई महिना पनि नरहेको दाबी गरे । प्रसाईँले काठमाडौं महानगरका मेयर बालेन, भिक्टर पौडेललगायतलाई यो युगको रावणको संज्ञा दिए ।
जेन–जी आन्दोलनका ग्राण्डडिजाइनर बालेन, भिक्टर, आस्था राउत, सुमना श्रेष्ठ, रक्षा बमलगायत रहेको र सबैभन्दा खतरनाक भने बालेन नै रहेको पनि उनले बताए । बालेन, भिक्टरलगायतको टिम यो देश सिध्याउने, देशको सबैभन्दा ठूलो अपराधी रहेको उनको आरोप छ । उनीहरु नेपालीहरुको नजरमा अपराधी रहेको पनि प्रसाईँले बताए ।




प्रतिक्रिया