तरुण दलको ७३औं स्थापना दिवस उपत्यकाका तीन जिल्लाले पार्टी केन्द्रीय कार्यालय र बाँकीले जिल्लामै मनाउन परिपत्र


काठमाडौं, ४ कात्तिक । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दलले ७३औं स्थापना दिवस आगामी कार्तिक १० गते मनाउँदै छ । तरुण दलको अध्यक्ष विद्वान गुरुङले उपत्यकाको तीन जिल्लाबाहेक बाँकी सबैले जिल्लामै तरुण दलको ७३औं स्थापना दिवस मनाएर शुभकामना आदान–प्रदान एवं चियापान कार्यक्रम गर्न परिपत्र गरेका हुन् ।

उपत्यकाको तीन जिल्ला कार्यसमितिले तरुण दल केन्द्रीय समितिको आयोजनामा नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा गर्ने कार्यक्रममा सहभागी हुने अध्यक्ष गुरुङले बताएका छन् ।

तरुण दलले यसपाली केन्द्र र जिल्लाभरी फरक शैली अपनाएर स्थापना दिवस मनाउँदैछ । कार्यक्रमलाई केन्द्रीय अध्यक्षले स्वागत सम्बोधन गर्ने र प्रमुख अतिथिले सम्बोधन तथा धन्यवाद कार्यकम गरी उपस्थित सबै जनालाई चियापानमा सरिक हुन जानकारी दिइने भएको छ । त्यसैगरी जिल्ला कार्यसमिति सोहीबमोजिम गर्नु भनेर परिपत्र गरिएको छ । कार्यक्रममा फुलमालाले स्वागत एवं लामो तरिकाको भाषण नहुने अध्यक्ष गुरुङले बताए ।

कार्यक्रममा पार्टी कार्यबाहक सभापती पूर्ण बहादुर खड्का, पदाधिकारी एवं केन्द्रीय सदस्यहरु लगायत संघीय सांसद एवं राष्ट्रिय सभा सदस्य ,गाउँ÷नगर पालिका प्रमुख, उपप्रमुख, निर्वाचित जनप्रतिनिधी, दलको केन्द्रीय सदस्यहरुको उपस्थिति रहने दलको मुख्य सचिव ठानप्रसाद पोखरेलले जानकारी दिए ।

उपत्यकाको जिल्लाको तिनओटै पार्टी जिल्ला सभापती एवं कार्यसमिती, महानगर सभापती एवं कार्यसमिती, क्षेत्रीय सभापती एवं कार्यसमिती, गाउँ÷नगर सभापती एवं कार्यसमिती, वडा सभापती एवं कार्यसमितीलाई दलको स्थापना दिवसमा निमन्त्रणा गरिने मुख्य सचिव पोखरेलले बताए ।

कार्यालय मुख्य सचिव पोखरेलको भनाइअनुसार काठमाडौं, भक्तपुर र ललितपुरको तीन ओटै जिल्लाको तरुण दल जिल्ला कार्यसमितीमार्फत महानगर, क्षेत्र, गाउँ÷नगर ,वडा तहसम्मको तरुण कार्यसमितिलाई कार्यक्रममा उपस्थिति गराइने छ ।

अन्य राजनीतिक दलको भातृ संगठनको प्रमुखहरुलाई केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा निमन्त्रणा गरिने र जिल्लाले पनि त्यहीअनुसार गर्ने मुख्य सचिव पोखरेलले बताए ।