काठमाडौं, ४ कात्तिक । नेकपा (एमाले) का नेता महेश बर्तौलाले मुलुककमा शान्ति सुरक्षाको मुख्य चुनौति गृहमन्त्री ओम प्रकाश अर्याल रहेको बताएका छन् । सक्कली छानबीन र अनुसन्धान गर्ने हो भने जेन–जी युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा व्यापक घुसपैठ गरी विध्वंस मच्चाउने नर्सरीका मुख्य माली गृहमन्त्री अर्याल नै रहेको निष्कर्ष निस्किने उनको दाबी छ । गृहमन्त्री अर्याल अहिलेसम्म इष्र्या, डाहा, कुण्ठा र आक्रोशभन्दा बाहिर निस्कन नसकेको उनको टिप्पणी छ ।
गृहमन्त्री अर्याले लुटिएका हतियारहरु खोज्ने कुरामा चासो नदेखाएको, प्रहरीको दबेको मनोबल उठाउने प्रयत्न नगरेको, भागेका कैदीबन्दीबारे चासो नदेखाएको नेता बर्तौलाको आरोप छ । हरेकदिन जसो हत्या र हिंसाको घटना घटिरहँदा पनि गृहमन्त्री अर्याल यसमा फिटिक्कै चिन्तित नरहेको र बरु शान्ति र स्थिरता भङ्ग गरेर मुलुकमा हिंसा, अराजकता र अस्थिररतातर्फ लान खोजेको उनको आरोप छ ।
गृहमन्त्री अर्याल पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, शीर्ष नेताहरु र राजनितिक दलहरुलाई भड्काउन, उत्तेजित बनाउन, इरिटेसन गर्न र हरसम्भव बेलगाम झुटा अभिब्यक्ति दिनमा तल्लीन रहेको उनले उल्लेख गरेका छन् । यस्तै तरिकाले अघि बढेमा मात्रै फागुन २१ को निर्वाचन गराउने कार्यादेश टार्न सकिन्छ गृहमन्त्रीको कुर्सीमा थप बसिरहन सकिन्छ भन्ने कुरा अर्यालले राम्रैसँग बुझेको पनि उनले बताएका छन् ।
गृहमन्त्री अर्याललाई नेता बर्तौलाले ‘गौ बधको पक्षमा वकालत गरेर समाजमा धार्मिक अशान्ति निम्त्याउन जोडबल लगाउने लाइसेन्सवाला वकिल’ भनेका छन् । बर्तौलाले गृहमन्त्री अर्यालय देश, जनता र संविधानप्रति उत्तरदायी नरहेको उनको दाबी छ ।
‘वडा सदस्यसमेत नभएका उनीलाई न त जनादेश प्रति उत्तरदायी हुनु छ, न त देश प्रति उत्तरदायी हुनु छ । न त संविधानप्रति या न त जनताप्रति । उनलाई त केवल षडयन्त्रप्रति र आफ्नै निजि स्वार्थप्रति मात्रै उत्तरदायी भए पुग्छ । जनता प्रति भरोसा बोक्नेहरुले जहिल्यै पनि जनादेशलाई सम्मान गर्दछ र शान्तिपूर्ण आवद्यिक निर्वाचन प्रति बिस्वास गर्दछ। तर जनता प्रति भरोसा नभएकाहरुले जहिलेसुकै आतङ्क , बिध्वंस र बिनासप्रति मात्रै बिस्वास गर्दछ र झुट तथा षडयन्त्रको को सहारा लिने गर्दछ । जुन गृहमन्त्री अर्यालले गरिरहेका छन्,’– बर्तौलाले भनेका छन् ।




प्रतिक्रिया