बालुवाटारको ‘सगरमाथा कक्ष’ मा सुरु भयो चुनाव तयारीबारे उच्चस्तरीय राजनीतिक सम्वाद


काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको राजनीतिक दलका नेताहरुसँगको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारको सगरमाथा कक्षमा सुरु भएको बैठकमा विभिन्न दलका नेताहरुको सहभागिता रहेको छ ।

२१ फागुनमा तोकिएको प्रतिनिधिसभाको निर्वाचनको तयारीको सन्दर्भमा प्रधानमन्त्री कार्कीले आज विभिन्न दलका नेताहरु र दुई जना पर्यवेक्षकसहितको बैठक आह्वान गरेकी हुन् ।

बैठकमा प्रायः सबै दलका दोस्रो तहका नेताहरुको सहभागिता रहेको छ । अध्यक्षको रुपमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सहभागिता रहेको बताईएको छ ।

सम्वादमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषिमन्त्री डा. मदन परियार सहभागी छन् । यस्तै प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालको पनि सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । file photo