काठमाडौं, ४ कात्तिक । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले जेन–जी आन्दोलनको क्रममा नेकपा (माओवादी केन्द्र) ले एक हजार दुई सयवटा हतियार लुटेको आरोप लगाएका छन् । एमाले भक्तपुरले आयोजना गरेको चियापान कार्यकाक्रमलाई सम्बोधन गर्दै उनले सो आन्दोलनको क्रममा माओवादीले योजनावद्ध रुपमा हतियार लुटेको आरोप लगाएका हुन् ।
‘हतियार कसले लुट्यो ? १२ सय हतियार कोसँग छ ? हामीलाई हतियारको महत्व हुन्छ ? यसले हतियार बुझ्दैन, चलाउन जान्दैन, त्यो त घाँडो हुन्छ । त्यो १२ सय हतियार योजनावद्ध माओवादीहरुले लुटेका छन् । माओवादी जो युद्धको कला सिकेर आएको छ, उसँग हतियार चलाउन जान्ने मान्छेहरु छन्,’– नेता बस्नेतले भने ।
जेन–जी आन्दोलनको क्रममा माओवादीको घुसपैठ थियो भन्ने कुरा विभिन्न तथ्यहरुबाट पुष्टि हुने पनि उनले बताए । पूर्व माओवादी लडाकुले महाराजगञ्जमा प्रहरीकोह हत्या गरेको, वाईसीएल अध्यक्ष पुष्प ओलीले १० हजार वाईसीएल सहभागी थिए भनेर अभिव्यक्ति दिएको र प्रचण्डले पनि आन्दोलन अगाडि दिएका अभिव्यक्तिले उक्त कुरा पुष्टि गर्ने उनको भनाइ छ ।
‘त्यस्तो पुष्टि भनेको महाराजगञ्जको प्रहरी मार्ने ६२ वर्षीय माओवादीका पूर्व लडाकु समातियो । उसले के भन्यो भने मेरा आँखा प्रहरीले फोरेको कारणले मैले मारेको हो । वाईसीएलको एउटा केटो गएर अस्ती रिपोर्टर्स क्लबमा के भन्यो ? यो आन्दोलनमा १० हजार वाईसीएलहरु परिचालन गरेका थियौं भन्यो । प्रचण्डले रवि लामिछानेसँग जेलमा गएर भेटे, आन्दोलन भड्काउने अभिव्यक्ति दिए । बालेनले सिंहदरबार जल्छ भनेर पहिला नै भनिसकेको थियो । प्रचण्डले सिंहदरबार जल्छ त भनेनन् तर बालुवाटार, संसद् भनव, सिंहदरबार घेरिन्छ, लाखौं मान्छेहरु आउँछन् भनेका थिए,’– नेता बस्नेतले भने ।
नेता बस्नेतका अनुसार २४ गते विहान पार्टी कार्यालयमा प्रचण्डले प्रतिपक्षी दलको मिटिङ राखेर ‘केपी ओलीले राजीनामा दिँदैछन्, म प्रधानमन्त्री बन्दै छु । के छ तपाईँहरुको सुझाव ?’ भनेर प्रतिपक्षी दलहरुलाई सोधेको पनि दाबी गरे ।




प्रतिक्रिया