काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका नेताहरुबीचको बैठक सम्पन्न भएको छ । सो बैठकमा प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेकी छिन् । उनले चुनाव समयमा गराउनको निम्ति आफूहरु अहोरात्र खटिएको र सुरक्षा निकायलगायतले पनि काम गरिरहेको बताईन् ।
प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएअनुसार दलहरूसँग संवादमा ढिलाइ किन भन्ने सन्दर्भमा प्रधानमन्त्री कार्कीले यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भएकोले त्यसमा समय लागेको हो ।
प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै सचिवालयले भन्यो,”सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन। राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ। अब जेनजी र दलहरू बसौँ । जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ । यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ ।”




प्रतिक्रिया