गुडिरहेको बसमा एक्कासी आगलागी, यात्रुले भागेर ज्यान जोगाए


काठमाडौं, कात्तिक ५। रौतहटको चन्द्रपुर नगरपालिका–४ पश्चिम लच्का नजिक आज बिहान एक यात्रुवाहक बसमा आगलागी भएको छ ।

काठमाडौँबाट चन्द्रपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा बस जलेर पूर्णरूपमा नष्ट भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार आज बिहान ७ः२० बजे लागेको आगो ८ः१५ बजे नियन्त्रणमा आएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले बारुण यन्त्रको सहयोगमा बसमा लागेको आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानवीय क्षति भएको छैन् । बसमा आगलागी सुरु भएपछि यात्रुले भागेर ज्यान जोगाएका छन् । बसमा कति यात्रु थिए भन्नेबारे खुल्न सकेको छैन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।