काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद ठाकुर गैरेले वर्तमान सरकार चुनाव बनाउने काममा केन्द्रित नभएको आरोप लगाएका छन् । उनले अहिलेको सरकारले चुनाव गराउन नसक्ने ठोकुवा गरे । हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले सुशीला कार्कीलाई प्रधानमन्त्री हुन नै संविधानले बञ्चित गरेको उल्लेख गरे ।
उनले भने,‘हाम्रो संविधानले सर्वोच्च अदालतको बहालावाला वा पूर्व प्रधानन्यायाधीश कुनैपनि सरकारी नियुक्ती हुन मिल्दैन भनेर किटानी प्रवन्ध गरेको छ, अनि उहाँ (सुशीला कार्की) कसरी प्रधानमन्त्री हुन मिल्यो ?’ उनले अहिले मुलुकलाई संकटबाट पार लगाउनको लागि जेनजी पुस्ताको पनि सहभागितामा सर्वदलीय सहमति गरेर असंवैधानिक कदम सच्याउनुपर्ने मत राखे । त्यसको लागि पहिला प्रतिनिधिसभा पूनःस्थापना गरिनुपर्ने र सर्वदलीय/सर्वपक्षीय सरकार बनाएर सहमतिमा चुनावमा जाँदा नै संवैधानिक बाटोमा फर्किन सकिने उनको भनाई छ ।
उनले पार्टीको ११औं महाधिवेशन मंसिरको अन्तिममा हुने बताए । उनले भने,‘आज नेपाल भयंकर ठूलो संकटमा छ । भूराजनीतिक चपेटामा छ । हामीमाथि यो देश कोल्याप्स बनाउने एउटा ठूलो पहलकदमी भयो, देश बर्वाद बनाउने प्रयत्न भयो । देश अहिले असंवैधानिक बाटोमा गएको छ, त्यसलाई संवैधानिक बाटोमा ल्याउनुपर्छ । वातावरण सहज बनाउनकोलागि अलोकतान्त्रिक र असंवैधानिक कदम सच्याउनुपर्छ । त्यसको लागि प्रतिनिधिसभा पूनःस्थापना नै हो ।’ उनले अहिलेको सुशीला नेतृत्वको सरकार क्रमशः जेनजी विरोधीको रुपमा स्थापित भइरहेको आरोप लगाए ।




प्रतिक्रिया