काठमाडौं, ५ कार्तिक । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले अहिलेको क्याविनेटमा एकजना पनि जेनजी पुस्ताबाट मन्त्री नबनाईएको भन्दै गुनासो पोखेका छन् । जेन–जी आन्दोलनका घाइतेहरुले आफ्नो माग सार्वजनिक गर्नकोलागि आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा बोल्दै धमलाले यस्तो बताएका हुन् । उनले भने,‘अहिलेको क्याविनेटमा हामीले एक जनापनि जेनजी पुस्ताको मन्त्री देखेनौं, मेरो त आग्रह छ कि कमल सुवेदीजीलाई अहिलेको सरकारमा युवा तथा खेलकुदमन्त्री बनाईनुपर्छ ।’
धमलाले प्रधानमन्त्री सुशीला कार्कीलाई अब हुने मन्त्रिपरिषद् विस्तारमा कमल सुवेदीजस्ता युवालाई समेट्न सुझाव दिए । उनले भने,‘प्रधानमन्त्रीज्यू, मेरो सुझाव छ–अब हुने मन्त्रिपरिषद् विस्तारमा जेनजी आन्दोलनका शहिद परिवारलाई, घाइतेहरुलाई क्याविनेटमा लिएर जानुहोस । अनिमात्रै बलिदानीको मर्मअनुसार यो सरकारले काम गर्नसक्छ भन्ने भावना हुन्छ ।’ यसपटकको तिहारमा यदि भ्रष्टाचारी दाजु–भाइ छन् भने टिका नलगाईदिन दिदि–बहिनीलाई धमलाको आग्रह छ ।
उनले भने,‘यदि कोही दाजुभाई भ्रष्ट छन् भने दिदि बहिनीले यसपटक भाइटिका नलगाईदिनुहोस, यदि दिदि बहिनी भ्रष्टाचारी छन् भने दाजुभाईले पनि टिका नलगाउनुहोस, हुन त म दिदि बहिनीले भ्रष्टाचार गर्छन् भनेर सोच्नपनि सक्दिनँ, तर यदि कोही छन् भनेमात्रै मैले यो भनेको हो ।’
धमलाले अब भ्रष्टाचारीलाई समाजबाट नै बहिष्कार गरिनुपर्ने भन्दै यसको लागि अभियान चलाउनुपर्ने आवश्यकता औंल्याए । उनले अहिलेको सरकार खासगरी गृहमन्त्री ओमप्रकाश अर्याललाई भ्रष्टाचारीलाई धमाधम कारबाही गर्न सुझाए । उनले भने,‘भ्रष्टाचार हाम्रो देशको महारोग हो, भ्रष्टाचारीलाई धमाधम कारबाही गर्नुहोस, जेनजी आन्दोलनमा दमन गर्नेहरुलाई, युवालाई गोली हानेर हत्या गर्नेलाई नछोड्नेहोस, एक्शन लिनुहोस । कारबाही गर्नुहोस ।’
उनले भदौ २३ र भदो २४ गतेको घट्नाको अनुसन्धान गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई पनि छिटो भन्दा छिटो अनुसन्धानको काम गर्न र घट्नामा संलग्नहरुलाई बयान लिन ढिलाई नगर्न सुझाव दिए । आयोग गठन भएको यतिका दिन बितिसक्दापनि अहिलेसम्म जेनजी आन्दोलनमा दमन गर्नेहरुलाई अहिलेसम्म बयान नलिएको भन्दै धमलाले आक्रोश पोखे । उनले भने,‘आयोग किन चुप लाग्ने ? शहिदको सपना पूरा गर्नुपर्छ । देश बनोस भन्ने सबैको चाहना छ ।’
प्रधानमन्त्री सुशीला कार्कीले चुनावकेन्द्रित छलफलको लागि दलहरुलाई बोलाउँदा जेनजी आन्दोलनका अगुवा, घाइते र शहिद परिवारका सदस्यहरुलाई पनि बोलाउन धमलाको सुझाव छ । उनले भने,‘अब त त्रिपक्षीय वार्ता गर्नुपर्छ । यो परिवर्तन भनेको सानोतिनो होईन, एक वर्षमा एकपटक हुने परिवर्तन हो । युगमा एकपटक मात्रै आउने परिवर्तन हो ।’ २१ फागुनको लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनको विकल्प नभएको भन्दै त्यसको लागि सरकारले सर्वपक्षीय वार्ताको थालनी गर्नुपर्ने उनको सुझाव छ । file photo




प्रतिक्रिया