जेन-जी आन्दोलनपछि दीपक खड्काको पहिलो अन्तर्वार्ता, सुशीला सरकारले अहिलेसम्म निर्वाचनको वातावरण नबनाएको आरोप (भिडिओ सहित)


काठमाडौं, ५ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा निवर्तमान उर्जामन्त्री दीपक खड्काले आफ्नो दल निर्वाचनको वातावरण बनाईए निर्वाचनमा जानको लागि तयार रहेको बताएका छन् । नेपाली कांग्रेस कहिल्यैपनि निर्वाचनबाट नभागेको उनको भनाई छ । उनले भने-“आवधिक निर्वाचन भनेको नेपाली कांग्रेसको चाहना हो, हामी निर्वाचनबाट कहिल्यैपनि भागेकै छैनौं ।”

आज (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आजको दिनसम्म हेर्दा वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको दाबी गरे । निर्वाचनको वातावरण बनाउने दायित्व र जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीको भएको उनले सम्झाए ।

जेन-जी आन्दोलनमा लुटिएका हतियार प्रयोग नगर्ने भनेर दलहरुले प्रतिवद्धता जनाउनुपर्छ भनेर गृहमन्त्री ओमप्रकाश अर्यालले दिएको अभिव्यक्तिलाई लिएर खड्काले सोधे,”उहाँले निर्वाचन नै देख्नुभएको छैन, दलहरुले कहिले निर्वाचनमा हतियार प्रयोग गरेका छन् ? निर्वाचन यही फागुन २१ गते मात्रै हुने हो र ? यसअघि निर्वाचन भएनन् र ? कति वटा निर्वाचन उहाँले देख्नुभयो ? सरकार हो भने त सरकार भएको अनुभूति जनतालाई दिनुपर्ने होला नि त ? यो सबै कुरा प्रधानमन्त्रीज्यूले जान्नुपर्छ । यो वातावरण उहाँले बनाउनुपर्छ ।”