काठमाडौं, ७ कार्तिक । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सर्वोच्च अदालतले संसद् पूनःस्थापना गर्ने बताएका छन् । पत्रकार ऋषि धमलाले अबको निकास के भनेर नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम ‘नेपाली बहस’ मा सोधेको प्रश्नमा डा. दीक्षितले भने–‘सुप्रिम कोर्टलाई अर्को उपाय नै छैन, उसले संसद् व्युँताउनैपर्छ, उसले टेक्नुपर्छ संविधानलाई नै, यो सरकार नै संविधान टेकेर आएको हो । यो सरकार त जेनजी क्रान्तिको आडमा आएको रहेनछ । त्यो त पक्का बुझियो । राष्ट्रपतिले पनि त्यही घोषणा गर्नुभएको छ, संविधान चलाएको छैन । मैले संविधान बिगारेको छैन भनेर राष्ट्रपतिले भन्नुभएको छ ।’
राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीले जेनजी रिभोलुसनलाई खत्तमै पारेको उनको आरोप छ । उनले भने,‘यहाँ त के भयो भने पूरानै संसद्, पूरानै व्यवस्था अनि पूरानै संविधान । पूरानै खालको इलेक्शन, उही सांसद चुन्ने, व्यवस्था उही हो । घुम्ने मेचमाथि अन्धो मान्छेझैं भयो ।’ राष्ट्रपति पौडेलले नै संसद् पूनःस्थापनाको लागि सर्वोच्च अदालतलाई एकप्रकारले मौका दिएको उनको टिप्पणी छ ।
राष्ट्रपति पौडेल कांग्रेसी र सुशीला कार्कीपनि भित्री मनमा काँग्रेसी नै भएकोले उनीहरुले अहिलेको जेनजी आन्दोलनपछि षड्यन्त्र गरेको दीक्षितको आरोप छ । उनले भने,‘यिनीहरुले जेनजीहरुको यत्रो अद्धितीय रिभोलुसनलाई खत्तम नै पारे । सर्वोच्च अदालतले संसद् पूनःस्थापना गर्छ । उसँग अर्को विकल्प नै छैन । त्यो मार्गदर्शन त राष्ट्रपति र सुशीला कार्कीले दिईसक्नुभएको छ ।’




प्रतिक्रिया