कांग्रेसको नियमित महाधिवेशन हुन्छ, १३ गते बस्ने केन्द्रीय समितिले मिति तय गर्छः सहमहामन्त्री परियार


काठमाडौं, ८ कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीको नियमित महाधिवेशन हुने बताएका छन् । आगामी कात्तिक १३ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनको सन्दर्भमा निर्णय गर्ने उनले बताए । मंसिर मसान्तभित्र नभ्याइएको खण्डमा पुस १५ सम्ममा भने पनि नियमित महाधिवेशन गरिनुपर्ने उनले बताउ ।

‘मंसिरमा हामीले नियमित महाधिवेशन गरौं भन्ने प्रस्ताव आएको छ । त्यही विषयमा हामी छलफलमा छौं । १३ गते बस्ने बैठकबाट नियमित महाधिवेशन गर्ने कुरा निर्णयमा पुग्छौं हामी । मंसिर मसान्तभित्रको समय थोरै कम भयो भने पुस १५ सम्म सारेर भए पनि हामीले १५औं महाधिवेशन गर्नुपर्छ,’– उनले भने ।

मंसिर अन्तिम वा त्यसको आसपासमा पार्टीको १५औं महाधिवेशन गर्नेगरी कार्यतालिका बनाएर निर्णय गरेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए । कांग्रेसको नियमित महाधिवेशन गर्न असम्भव छ भन्ने निष्कर्ष निस्किएको खण्डमा मात्रै विशेष महाधिवेशन जान सकिने उनले बताए । अहिले दलभित्र नियमित महाधिवेशन नै गरौं, विशेष महाधिवेशन जरुरी छैन भन्ने आवाज उठिरहेको उनले बताए । कांग्रेसले नेतृत्व, नीति र विचारमा समायानुकूल परिवर्तन गर्दै जानुपर्ने उनले बताए ।