दुर्गा प्रसाईंसहितलाई गृहमन्त्री अर्यालको आग्रह : हामीले संवादको ढोका खुला राखेका छौँ


काठमाडौं, ८ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनको घोषणा गरेका विभिन्न समूहलाई वार्ताको लागि आह्वान गरेका छन् । आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय सुरक्षा बैठकमा पछिल्लो अवस्था र सम्भावित सुरक्षा चूनौतिको विषयमा छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता थियो ।

बैठकमा वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चाल्नेबारे छलफल भएको थियो । दुई घण्टा चलेको सो बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भने,‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ। विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्। आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्। राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ। सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ। संवादबाटै समस्याको समाधान चाहन्छौँ।’ अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत भइदिन पनि उनले आग्रह गरेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले छठलगत्तै निर्णायक आन्दोलन गर्ने घोषणा गरेका छन् । प्रसाईंले सम्पूर्ण नेपालीहरुलाई खाद्यान्न र डिजेल, पेट्रोलसहितका अत्यावश्यक वस्तुको जोहो गर्न अपिल गरेका थिए । आजको बैठकमा प्रसाईंको आन्दोलनको विषयमा पनि छलफल भएको जनाईएको छ ।