काठमाडौं, ८ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले आफ्नो दल निर्वाचनमा जानबाट कहिल्यैपनि नभागेको बताएका छन् । उनले राष्ट्रियतामाथि नै जोखिम भएको बेलामा पार्टीभित्र अभूतपूर्व एकताको आवश्यकता रहेको औंल्याएका छन् । प्राइम टिभीको लागि कुरा गर्दै नेता केसीले यस्तो बताएका हुन् । तर, पार्टी अहिले यही नीति, नेतृत्व, विधि र अनुहार लिएर अघि बढ्न नसक्नेपनि केसीको टिप्पणी छ ।
उनले भने,‘पार्टीभित्र अहिले आमुल सुधारको आवश्यकता छ । नीतिगत र नेतृत्वगत रुपले पनि सुधार आवश्यक छ ।’ नेपाली काँग्रेस नेपाली जनताको बीचमा जन्मिएको पार्टी भएकोले नेपाली जनताको बीचमा जानको लागि उसलाई कहिल्यैपनि द्धिविधा नहुने उनको तर्क छ ।
उनले भने,‘तर, त्योभन्दा अगाडि, ५ सयभन्दा बढि सरकारका आधुनिक हतियार लुटिएका छन्, झण्डै ५ हजारभन्दा बढि कैदीहरु, अपराधीहरु जेलबाहिर छन्, त्यो थितिमा शान्ति सुरक्षाको प्रत्याभूति नभईकन हुने निर्वाचन त निर्वाचन नै हुन सक्दैन् ।’
उनले पार्टी यथास्थितिमा अघि बढ्न नसक्ने भएपनि पार्टी विभाजनको तहसम्म नपुग्ने विश्वास दिलाए । तर, पार्टी विभाजनको अवस्थामा पुगे देशमा लोकतन्त्रमाथि नै चूनौति खडा हुने उनको भनाई छ । नेपाली कांग्रेस निरन्तर रुपमा लोकतान्त्रिक आन्दोलनबाट जनताको बीचमा गएको र उदाएको दल भएको उनले स्मरण गराए ।
उनले अहिलेसम्म यो सरकारमा जेनजीहरुको प्रतिनिधि नभएकोमा प्रश्न उठाए । तर, सरकारमा सहभागी मन्त्रीहरु राम्रै रहेको उनको भनाई छ । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई हक्की स्वभावको व्यक्तित्वको रुपमा चित्रण गरे । उनले भने,‘सुशीलाजी एउटा हक्की स्वभावको मान्छे हो, निर्भिक र निडर हुनुहुन्छ, उहाँलाई यो जिम्मा राष्ट्रले सुम्पिएको छ, निर्वाचन गर्न सफल हुनुहोस भन्ने मेरो शुभकामना छ ।’




प्रतिक्रिया