समस्याको समाधान विशेष महाधिवेशन होइन, यसले पार्टीलाई तहसनहस बनाउँछः कांग्रेस नेता गौतम


काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सञ्जयकुमार गौतमले पार्टी, डेमोक्रेशी र अहिलेको सिस्टमलाई बचाएर मुलुकलाई स्थिरता दिनका लागि कांग्रेसले नियमित अधिवेशनबाट नै आफ्नो बाटो तय गर्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसले नियमित महाधिवेशन गर्न नसकेको खण्डमा देशको राजनीति नै नयाँ कोर्षमा जाने बताएका हुन् । आफू नियमित अधिवेशन कुनै पनि हालतमा सुरु हुनुपर्छ भन्ने पक्षमा रहेको पनि उनले बताए । विशेष महाधिवेशनले भने पार्टीमा दुर्घटना निम्तिने उनको भनाइ छ ।

‘विशेष महाधिवेशनको भेला गर्नुभयो भने तपाईँले थाहा नै पाउनुहुन्न राजनीति कहाँ जान्छ, कांग्रेस कहाँ जान्छ ? त्यसले एउटा दुर्घटना निम्त्याउने कुरा मैले झलझल्ती देखेको छु । मेरो साथीहरुलाई आग्रह छ– इमोशनमा आएर त्यो पनि नगर्नुस् । जसरी भए पनि हामीले नियमित महाधिवेशनको वातावरण निर्माण गरौं भन्ने हो,’– उनले भने ।

विशेष महाधिवेशन अहिलेको समस्याको समाधान नरहेको उनको दाबी छ । उनले विशेष महाधिवेशनले पार्टीमा धेरै ठूलो विभाजन ल्याउने बताए । विशेष अधिवेशन भएको खण्डमा कांग्रेस तहसनहस नै हुने उनको बुझाइ रहेको छ । आफू विशेष महाधिवेशनको पक्षमा नरहेको उनले बताए । ‘विशेष महाधिवेशनले समस्याको समाधान दिन्छ, मुलुकलाई निकास दिन्छ, पार्टीलाई मजबुद बनाउँछ भन्ने पक्षमा छैन । यसले पार्टीमा झन ठूलो विग्रह गर्छ,’– उनले भने ।