काठमाडौं, ९ कात्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी आन्दोलनले उठाएका मुद्दा माओवादीले संविधानसभादेखि नै उठाउँदै आएको बताएका छन् । अब जेन–जीको मुद्दा पूरा गर्नका लागि माओवादीको पहल र जोड हुने बताए । ‘जेन–जी आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौं। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ,’– उनले भने ।
गोरखा सदरमुकाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति माओवादीको पनि समर्थन रहेको बताए । तर माओवादीको मत संसद्बाट अनुमोदन गरेर र संविधान संशोधन गरेरमात्र संसद् विघटन गरौं भन्ने रहेकोमा त्यसो हुन नसकेको उनले बताए । उनले जेन–जीलाई उत्तराधिकारीको रुपमा चित्रण गरे । माओवादी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेको पनि उनले बताए । प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न पनि आग्रह गरे ।
‘अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो। सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु। चुनाव हुन्छ कि हुँदैन भन्ने होइन । अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन,’– उनले भने ।
त्यस्तै, उनले देशभर माओवादी केन्द्रको अभियानप्रति जनविश्वास बढ्दै गएको बर्ताए । ‘हाम्रो पार्टीले अहिले जिल्ला–जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको छ। आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन्,’– उनले भने ।
साथै, उनले जेन–जी युवाहरूसँग आफ्नो छलफल हुँदैजाँदा उनीहरूले आफ्नो असली अभिभावक माओवादी रहेको पाएको बताए ।




प्रतिक्रिया