काठमाडौं, १० कात्तिक । स्वास्थ्य तथा जनङ्ख्यामन्त्री डा.सुधा शर्मा गौतमले सबै राजनीतिक दललाई निर्वाचन भाँड्ने प्रयास नगर्न आग्रह गरेकी छन् । आज (सोमबार) काठमाडौंको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेन–जी आन्दोलनका घाइतेहरुसँगको भेटपछि उनले निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सम्बन्धित सबैलाई ध्यानाकर्षण गराएकी हुन् । सरकार निर्वाचन केन्द्रीत भएकाले यसको विरोध गरिरहन आवश्यक नरहेको उनको भनाइ थियो ।
‘म मुलुक आन्दोलनमा नजाओस् भन्न चाहन्छु । जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ उहाँलाई त्यसो नगर्नुस् भनेर अनुरोध गर्न चाहन्छु,’– उनले भनिन् ।
मन्त्री शर्मालाई घाइतेहरुले अस्पतालको विकृति र बेथितिको बारेमा ध्यानाकर्षण गराएको बताइएको छ । उनीहरुले दिएको सुझावको आधारमा अस्पताल सुधारका लागि लागिपर्ने मन्त्री शर्माले बताईन् । मन्त्री शर्माले काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका घाइते जेन–जीहरुको अवस्थाबारे पनि जानकारी लिएकी थिईन् । सो क्रममा उनले उपचाररत घाइतेहरुको उपचारमा कुनै कमी नगर्न निर्देशन दिईन् । सो क्रममा मन्त्री शर्माले जेन–जी आन्दोलनका सहिद र घाइतेहरुको बलिदानी खेर नजाने बताईन् ।




प्रतिक्रिया